बैंकक- गैर आवासीय नेपाली संघ थाइल्यान्डले नेपाल र थाइल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको स्वर्ण जयन्तीमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
एनआरएनए थाइल्यान्डको युवा फोरमले थाई रेडक्रस सोसाइटी बैंककमा आयोजना गरेको रक्तदानमा नेपाली समुदायका प्रतिनिधि तथा अन्य देशका प्रतिनिधिहरुले समेत रक्तदान गरेका थिए।
कार्यक्रममा थाइल्यान्डस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन जंगबहादुर गुरुङ, एनआरएनए अन्तर्राष्ट्रिय परिषद्का सदस्य तथा नेपाली पोलिसी इन्स्टिच्युटका अध्यक्ष प्राध्यापक खगेन्द्रराज ढकाल, नेपाली पोलिसी इन्स्टिच्युटका कार्यकारी सदस्य शरद न्यौपाने, थाइल्यान्डका प्रथम सगरमाथा आरोही थितीनान रोजानफानीज, नेपालका १६३ औँ पटक रक्तदान गरेका रक्तदाता अर्जुनप्रसाद मैनाली लगायतले रक्तदान गरेका थिए।
आयोजकका तर्फबाट अध्यक्ष आसाजीत अवालेले नेपालभन्दा पर रहेर पनि आफ्नो देश सम्झँदै सहभागी भएकोमा धन्यवाद दिएका थिए। कार्यक्रममा ५६ जनाले रक्तदान गरेको कार्यक्रमका संयोजक श्रीहरि आचार्यले जानकारी दिए। एनआरएनएको इतिहासमा एनआरएनए थाइल्यान्ड रक्तदान कार्यक्रम आयोजना गर्ने २२ सदस्य देश हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।