काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ मा ८ प्रतिशत आर्थिक वृद्धि सम्भव भएको बताएका छन्।
सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट सम्बन्धमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले आउँदो वर्ष आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने दाबी गरेका हुन्।
उनले आगामी वर्ष थप साढे ४ प्रतिशत कृषिमा, १२ प्रतिशत औद्योगिक क्षेत्रमा र साढे ८ प्रतिशत सेवा क्षेत्रमा आर्थिक वृद्धिदर हुने बताए। भने, ‘यसरी हेर्दा आगामी वर्ष ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य सहजै हासिल गर्न सकिन्छ।’
उनले आगामी आर्थिक वर्ष थप ५ लाख व्यक्ति रोजगारीमा आवद्ध हुने बताए। ‘आगामी वर्ष विभिन्न क्षेत्रमा ५ लाखभन्दा बढी व्यक्तिलाई थप रोजगारी सिर्जना हुन्छ,' अर्थमन्त्री खतिवडाले भने, 'त्यसले आर्थिक वृद्धिमा टेवा पुर्याउँछ। आर्थिक वृद्धिको जगमा अर्थतन्त्र थप गतिशील हुँदै एउटा वृहत् आर्थिक आधार तयार हुने र विकास तथा समृद्धिको यात्रा प्रारम्भ हुने विश्वास छ।’
अर्थमन्त्री खतिवडाले मंगलबार संसद्मा प्रस्तुत गरेको २०७५/०७६ को बजेटमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्रस्तुत गरेपछि महत्वाकांक्षी लक्ष्य भनेर प्रतिक्रिया आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।