काठमाडौं– नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७४ संशोधन तथा थप गरेको छ। उक्त संशोधित परिपत्रमा राष्ट्र बैंकले क्यासिनोको कारोबार बैंकिङ प्रणाली प्रयोग गरी सम्पादन गर्नु पर्ने व्यवस्था ल्याएको जनाएको छ।
संशोधित परिपत्र अनुसार क्यासिनो खेलाडीले अमेरिकी डलर ५ हजारभन्दा बढी जितेको वा हारेको रकम भन्सार घोषणा गरी बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था ल्याएको छ। सोभन्दा कम रकम भने नगदै कारोबार गर्न सक्ने छन्।
क्यासिनो कारोबारमा प्राप्त हुने नगद विदेशी मुद्राहरु भोलीपल्टसम्म बैंक खातामा जम्मा गरिसक्नुपर्छ।
परिपत्रमा क्यासिनोहरुले कारोबार सञ्चालन गर्नुपूर्व राष्ट्र बैंकबाट विदेशी विनियम कारोबार सम्बन्धमा अनुमति लिनु पर्ने भएको छ। कारोबारको लागि आवेदन दिँदा अनुुसूची २४.९ बमोजिमको कागजात पेस गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।
साथै भारतबाट क्यासिनो खेल्न आउनेबाट प्राप्त भारतीय मुद्रा जम्मा गर्न छुट्टै खाता खोल्नु पर्नेछ। सो खातामा बैंकिङ च्यानलमार्फत प्राप्त हुने भारतीय मुद्रा जम्मा गर्नुपर्ने व्यवस्था छ। खेलाडीले बाजी जितेको हकमा सोही खाताबाट बैंकिङ च्यानल प्रयोग गरी भुक्तानी दिने व्यवस्था क्यासिनो कम्पनीहरुले गर्नुपर्छ।
यसरी भुक्तानी दिँदा क्यासिनो नियमावली–२०७० को नियम २१ अनुसार खेलाडीले एक पटकमा खेल्न सक्ने अधिकतम बाजीको सिमा भित्र रही तथा नियम २२ मा खेलाडीले खेल खेल्नको लागि खरिद गर्न सक्ने क्वाइन÷चिप्सको अधिकतम संख्या तथा सीमा भित्र रहेर कारोबार गर्नुपर्छ।
क्यासिनोले भारतीय मुद्रा १० करोड तथा परिवत्र्य विदेशी मुद्रा २० लाख अमेरिकी डलरसम्म बैंकमा मौज्दात राख्न सक्छन्। सोभन्दा बढी रकम जम्मा भएपछि नेपाली मुद्रा खातामा रकमान्तर गर्नु पर्नेछ। साथै जितेको रकम यही मौज्दातबाट पठाउनु पर्नेछ।
त्यस्तै, जितेको रकममा नियम अनुसार कर तिर्नुपर्ने व्यवस्था छ। साथै भारतीय रुपैयाँ ३० लाख र अमेरिकी डलर १० हजार खेलाडी स्वयम्को खाताबाट बैंक मार्फत पठाउन सकिन्छ भने सोभन्दा बढी रकम भएमा राष्ट्र बैंकबाट स्वकृति लिनु पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।