डडेलधुरा– आज १०औं गणतन्त्र दिवस। देशभर विभिन्न कार्यक्रम गरी धुमधामका साथ मनाइँदैछ यो दिवस मनाइँदै छ। डडेलधुरामा भने गणतन्त्र दिवसलाई फरक तरिकाबाट मनाइएको छ।
दिवसको अवसरमा बजार सरसफाइ गर्न भन्दै अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वप्रसाद ओझा, अन्य सरकारी अंगका प्रमुखहरु तथा युवाहरु बिहानै कुचो लिएर सडकमा निस्किएका थिए। कार्यक्रम युवाहरुको सञ्जाल ग्रीन अर्थ सोसाइटी नेपालले संयोजन गरेको हो।
डडेलधुरा सदरमुकामअन्तर्गत बागबजार, बगरकोट रोड, तुफानडाँडा लगायतका बजार क्षेत्रमा सरसफाइ गरिएको छ। टोलीले सडक छेउछाउका रहेका प्लाष्टिकजन्य फोहोर संकलन गर्नुका साथै कुचोले सफा गरेका थियो। फोहर जम्मा गरेर डस्टविनमा फालिरहेका नगरप्रमुख ओझालाई देखेर स्थानिय व्यापारी भने टुलुटुलु हेरीरहेका थिए।
सडक पेटीमा अव्यवस्थित निर्माण सामाग्री राख्ने, जथाभावी सडकमा फोहोर फाल्ने स्थानीय तथा व्यापारी, व्यवसायीहरुलाई सकारात्मक सन्देश दिन यस्तो कार्यक्रमको आयोजना गरेको ग्रिन अर्थ सोसाईटी नेपालका अध्यक्ष तिर्थ पनेरुले बताए।
सरसफाई गर्नु सबैको कर्तव्य रहेको भन्दै दिवशको अवसरमा मात्र नभई आफुले नियमित बजार सरसफाइ गर्ने अभियान नै चलाएको नगर प्रमुख ओझाले बताए।
आफ्नो पसल अगाडीको फोहोर सबै व्यापारी आफैले सफा गर्ने हो भने बजार दुर्गन्धित नहुने उनको बुझाइ छ। यसबाट आफ्नो क्षेत्रको सरसफाइृ आँफैले गर्नुपर्छ भन्ने सबैमा सन्देशसमेत दिन खोजेको नगरप्रमुख ओझा बताउँछन्।
सरसफाइमा नगरपालिकाका कर्मचारी, ग्रिन अर्थ सोसाईटी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेतको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।