उपेन्द्र यादवको एमाले मार्ग

Nepal Live

संविधान जारी हुँदै गर्दा फोरम अध्यक्ष उपेन्द्र यादव निकै आक्रोशित सुनिन्थे। उनी भन्थे– 'संविधान पुनर्लेखन हुनुपर्छ।' उनले कतिपय कार्यक्रममा संविधान पुनर्लेखनका लागि मात्रै सरकारसँग वार्ता हुने बताउने गरेका थिए। यादवका अघिल्तिर आन्दोलनकारी अन्य पार्टीका नेताहरु उति आक्रामक थिएनन्। संविधान संशोधन मात्रै उनीहरुको मुख्य माग थियो। अन्य नेताहरु संशोधन गर्नुपर्ने धारा र उपधारामा अलमलिइरहँदा यादवको भने एक सूत्रीय माग थियो– 'संविधान पुनर्लेखन नै हुनुपर्छ।'

संविधानको बचाउमा लागेको अर्को दल तत्कालिन नेकपा एमाले र उसका अध्यक्ष केपी ओली यादवको ठीक विपरित धारणा राख्थे। पहिले त सो पार्टीका नेताहरु संविधान संशोधन हुनसक्ने वा गर्नुपर्ने विषय नै राष्ट्रघातसँग तुलना गर्थे। पछिपछि चुनाव र सत्ताको नजिक पुगेपछि भने आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुनसक्ने बताउन थालेका थिए। त्यो आवश्यकता र औचित्यका पछाडि देशको समृद्धि र विकास लागि अवरोध पुगेमा मात्रै संविधान संशोधन हुनसक्ने एमालेको तर्क हुनेगर्थ्यो। अर्थात्, संविधान संशोधन आवश्यक छैन भन्ने एमालेको अन्तर्य बुझ्न कठिनाइको विषय थिएन।

उता यादव भने मौनमौन हुन थालेका थिए। आन्दोलनका सहयात्रीबाट उनी विस्तारै अलग्गिँदै गइरहेका थिए। प्रचण्ड सरकारले स्थानीय तहको मिति तोकेपछि त स्पष्ट रुपमै यादवको 'यु–टर्न' सुरु भयो। सँगै आन्दोलन गरेका अन्य मधेस केन्द्रित शक्तिहरु राष्ट्रिय जनता पार्टी निर्माणमा लाग्दै गर्दा उनी भने 'म जन्मिएको माटोले जा भनेकाले चुनावमा सहभागी भएँ' भन्दै चुनावमा होमिए।
संविधान संशोधनको कुरा उठाउन नछाडेको राजपालाई यादवले स्वभाविक रुपमा लिएनन्। सो पार्टीको गठनलाई पनि उनले रुचाएनन्। भारततिर संकेत गर्दै 'टाउको त जोड्दियो तर आत्मा र विचार अरूले जोडेर जोडिन्न नि!' भन्दै बेवास्ता गरे।

मुख्यगरी मधेस केन्द्रित राजनीति गर्नुको नाताले राजपासँग मिलेरै प्रदेश र प्रतिनिधिसभा चुनावमा भाग लिए। प्रतिनिधिसभामा पाँचौं ठूलो दल (अहिले चौथो) भए।

अर्कोतिर वाम गठबन्धन बनाएर चुनाव लडेका तत्कालिन एमाले र माओवादी केन्द्रका बीच एकता प्रक्रियामा गतिरोध आउँदा यादव चर्चामा आए। यतिबेलासम्म उनी एमाले र माओवादी निकट भइसकेका थिए। 

गत पुस पहिलो हप्ता आफ्नो निर्वाचन क्षेत्रमा शुभकामना तथा बधाई आदानप्रदान गरिरहेका बेला ओलीको फोन पाएपछि यादव तुरुन्तै काठमाडौं आएका थिए। त्यसपछि नै उनी सरकारमा सहभागी हुने हल्ला चलिसकेको थियो। कतिसम्म भने एमाले र माओवादी समीकरण भत्किएमा एमालेले यादवलाई प्रधानमन्त्रीमा समर्थन गर्ने सम्मका विश्लेषण हुन थाल्यो। राष्ट्रिय दलको मान्यताप्राप्त सबैभन्दा सानो दलको चर्चा बढ्यो।

यादव मानसिक रुपमा सरकारमा जान भने तयार भइसकेका थिए। उनले आफू निकटका नेतालाई त्यसका लागि पनि तयार गरेका थिए। जसरी हुन्छ, मिलाएर जानुपर्छ भन्ने मान्यता उनको थियो। 'सरकारमा नगएर यत्रा वर्ष के गाइ चराएर बस्छौ?', यादवले गर्ने गरेको प्रश्न भन्दै उनी निकट एक नेताले पंक्तिकारलाई सुनाएका थिए।

अन्ततः नेपाल कम्युनिस्ट पार्टी र फोरमबीच दुई बुँदे सहमति भएको छ। सहमतिसँगै सो पार्टी सरकारमा जाने निश्चित भएको छ। सरकारमा जानु अनौठो कुरा होइन। किनकि सो पार्टी त्यसका लागि तयार नै थियो। अनौठो त संविधान संशोधनका लागि उसले हस्ताक्षर गर्न तयार भएको बुँदा हो। सहमतिपत्रको पहिलो बुँदामा भनिएको छ– 'संघीय समाजवादी फोरम, नेपालले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी संबोधन गरिने छ।'

संविधान संशोधनको विषयमा सहमतिपत्रमा जे लेखिएको छ, त्यो पूरापुर पूर्व एमालेको र केपी ओलीको अडान हो। आइतबारमात्रै उनले संसदमा 'आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुन्छ' भनेका थिए। र, त्यसमा उनले जोडेका थिए– 'देशलाई अगाडि बढाउन, जनतालाई अधिकार सम्पन्न बनाउन, जनताको आवश्यकतालाई परिपूर्ति गर्न, विकासको कामलाई अगाडि बढाउन, समृद्धि हासिल गर्न संविधान संशोधन गर्न सकिन्छ।' 

यादव पनि एमाले र ओली मार्गमै दौडने कुरा अपेक्षित थिएन। मधेसको पक्षमा संविधान संशोधन गर्ने कुरा उनी पहिलो पटक स्थानीय तहको चुनावमा सहभागी भएदेखि नै धरापमा पर्दै आएको थियो। पछिल्लो कदमले त्यो झनै असम्भव बन्ने प्रष्ट भएको छ। अब कदाचित संविधान संशोधन भएमा उही ओलीले भनेजस्तै समृद्धि र विकासमा अवरोध हुने बुँदामा मात्रै हुनसक्छ। जुन अवरोध संविधानमा हुनेकुरा भएन। रेल र जहाज कुदाउन कुन धारा पो अवरोधक होला र?

हिजो यादवको एक वचनमा सडकमा उत्रिएर गोली थाप्न तयार कुनै युवाले यो सहमति पत्रलाई धोका हो भन्यो भने त्यो अतिरञ्जित र असत्य हुने छैन। कारण, मधेसका जति पनि मुद्दा छन् भनेर हिजो आन्दोलन गरिएको थियो र त्यसको नेतृत्व यादव लगायतले गरेका थिए, त्यसको एक टुक्रा पनि सम्बोधन हुने सुनिश्चितता यो सहमतिले गर्न सक्दैन। सक्छ भने यादवले त्यसको आधार दिन सक्नुपर्छ। दिन सक्दैनन् भने अबका कुनै पनि आन्दोलनमा मधेसका जनताले यादव वा उनी जस्तै कडा कुरा गर्ने नेतालाई साथ दिइरहनु जरुरी नभएको प्रष्ट हुन्छ। 

उसबेला संविधान पुनर्लेखनको विकल्प नरहेको बताउने यादव कसरी 'देश र जनताको पक्षमा' भन्ने अमूर्त सहमतिपत्रमा हस्ताक्षर गर्न हतारिए? यो 'गाइ चराएर नबस्ने' गोठाले राजनीतिक चाहनामात्रै हो कि ओलीको बारीमा आफैं चर्न जाने भतेर राजनीति हो? यादवले जवाफ देलान्–नदेलान्, तर हिजो उनकै कुरामा विश्वास गरेर महेन्द्र राजमार्गमा गोली खान तयार भएका उत्सर्गी समूह र गोली खाएका सहिदका परिवारले जवाफ खोज्छन् नै। जनतालाई जवाफ नदिने राजनीति कतिञ्जेल टिक्छ?

नेताहरुको बोलीलाई जनताले गम्भीरताका साथ लिन जरुरी नभएको प्रष्ट सन्देश यादवले दिएका छन्। कारण, पुनर्लेखन भनेर कडा भाषण गर्ने गरेका यादवमा पनि कुनै दम रहेनछ। बरु ती सबै सत्ताको भर्‍याँङ ठड्याउने उपाय मात्रै रहेछ। झुटको खेति गरेर आफ्नो गुमेको साख फर्काउने प्रयासको बाध्यात्मक अभिव्यक्ति मात्रै रहेछ। अब उनको कुराको विश्वास गर्ने आधार अब सकिएको छ। अब कुनै पनि बेला आन्दोलन गर्नुपर्ने अवस्था आयो र उपेन्द्र यादवले नै त्यसको नेतृत्व गर्न चाहे भने जनताले कसरी विश्वास गर्ने? उनले यसबारे सोच्नुपर्छ। सत्ता सधैंभर सत्य नहुनसक्छ। कुनै क्षणमा त्यस्तो लाग्नुचाहिँ राजनीतिमा स्वभाविक हो। तर, हिजोको सडक आवेगले यादवलाई कुनै पनि क्षण झक्काउन सक्छ। 

सहमति पत्रमा विगतको आहुतिको कुनै रङमात्रै मिसिएको भए उनलाई शंकाको सुविधा दिन सकिन्थ्यो होला। उनी त पूर्व एमालेको खोतलेको सडकमा कालोपत्रे गर्दै अघि बढे। यादवलाई ज्ञात होस्, यति सहमति त नाकाबन्दीकै बेला तत्कालीन प्रधानमन्त्री ओलीले गरिदिनसक्थे। 

प्राप्त प्रतिकृयाहरू

Der Raj gurung
किशोर जी मधेशको जनता प्रति निकै चिन्तित देखिनु भयो l यसको निम्ति मधेशी नेताहरु संधै सडकमा आन्दोलन मात्रै गरी रहुन, सिमामा धर्ना मात्र बसी रहुन भन्ने चाहाना पनि व्यक्त गर्नु भएछ l मानौं कि मधेशका नेताहरु खास गरी उपेन्द्र यादव र उनको पार्टी चै संधै आन्दोलन मात्र गर्न खुलेको हो l वाहाको लेखमा चिन्ता हैन पूर्वाग्रह देखिन्छ किन कि वाहाले मधेश आन्दोलन पहिचान र अधिकारको आन्दोलन हो l यो जसरी पनि सफल हुनु पर्छ नत्र मधेशी जनताले दुख पाउछन भनेर कहिले चिन्ता व्यक्त गर्नु भएको छ ? अर्को कुरा हरेक आदोलन सम्झौतामै टुंगिने हैन र ? चिन्ता व्यक्त गर्नु भएको हो भने आशा गर्नुस कि यो सम्झौता ईमान्दारसाथ् कार्य कार्यन्वोयन होस् l तर याहाको लेखाईको आशय त्यस्तो छैन l बरु मधेशको मुद्धा यहि सम्झौतासंगै सेलाएर जावोस र भोली फेरी उठ्न नसकोस भन्ने चाहाना चै ब्यक्त भएको छ l मधेशी जनताको यो सम्झौतासंगै उपेन्द्र यादव र ससफो नेपाल प्रति विश्वास उडोस भन्ने तपाईको भित्रि चाहान बुझ्न कठिन छैन l तपाईले विर्सनु भयो कि कसो, पहिलो मधेश आन्दोलन बाट अन्तरिम संविधानमा संघियता र समानुपातिक सम्वेशीता संस्थागत गराउँदा पनि सम्झौता नै भएको थियो र सरकारमा गएको थियो l त्यस पछिको ७ वर्ष सम्म ७ प्रधानमन्त्रि हुँदा र रातो कार्पेट बिछायेर स्वागत गर्दा पनि फोरम सरकारमा गएन l अहिले गएको छ l त्यसको कारण तपाई जस्ताले विश्लेषण गर्न पनि सक्नु हुन्न र उपेन्द्र यादवलाई तपाई न चिन्न सक्नु हुन्छ न त चिन्नै चाहानु हुन्छ l अनि केको समय वर्वाद गरी रहेको यस्ता मनका काला कुण्ठाहरु पोखेर ?

जितेन्द्र 'जितु'
लेखकलाई आजको सम्झौताले ठुलै झटका पो लागेको देखियो । मधेश आन्दोलन र आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको वारेमा पनि निकै चिन्तित देखिनुभा'छ दहालजी, उहा जस्ता वरिष्ठ सम्वाददाताहरु मधेश आन्दोलनका वेला पनि यतिक्कै चिन्तित देखिएको भए सायद मधेशवाद/पहाडवाद/राष्ट्रवाद जस्ता शव्दका पछाडि नेपालिहरुलाई दिमागनै खियाउनु पर्ने थिएन होला ! लेख्न त 1000/1500 शव्दनै लेख्न मन लागेको थियो तर, यो मोवाईलको किवोर्डले कति लेखौ । दहाल सरको लेख उपेन्द्र यादव प्रति शतप्रतिशत पूर्वाग्रहि छ, यो पूर्वाग्रह उपेन्द्र यादव प्रति होईन समग्र मधेश प्रतिकै हो । यस मुलुकमा थुप्रै यस्ता नश्लवादि चिन्तन भएका पत्रकार/लेखक/वुद्धिजिविहरू छन जो न त मधेशको मुद्दालाई स्थापित भएको देख्न चाहन्छन, न त मधेशका नेतालाई नै ? उपेन्द्र यादवलाई मधेशका यूवाले, शहिद परिवारले वा आम मधेशिले के प्रश्न गर्लान त्यस प्रति निकै चिन्तित देखिनुहुन्छ लेखक ज्यू, उपेन्द्रले संविधान पूर्नलेखनको अजेण्डा उठाएर वोली फेरेको तथ्य पनि विर्सनु भाकोछैन उहाँ । लेखक ज्यूको परिचायमा वरिष्ठ राजनीतिक सम्वाददाता लेखिएको पाए । वरिष्ठज्यू राजनीतिमा कुनै पनि माग र अडान असंशोधनिय वा अपरिवर्तनिय हुदैन । नभए हजुरको ओली तथा प्रचण्ड ज्यू पनि कुनै वेला संसदिय व्यवस्थाको विरूद्ध नै हतियार उठाएका थिए तर आज सोहि व्यवस्था अन्तर्गत शत्ता सुखभोग गरिराख्नु भएको छ । धेरै लामो नजाऔ आजको सम्झौतामै केन्द्रित होऔ । पछिल्लो चुनावमा ओलि नेतृत्वको वाम गठवन्धन जनता माझ मत माग्न जाँदा कुन अजेण्डाका साथ गएको स्मरण छ, हजूरलाई ? छैन भने स्मरण गर्नुस...मधेश आन्दोल ! नाकावन्दी ! संविधान संशोधन ! राष्ट्रघात ! र यसै मुद्दाको आधारमा मधेश वाहुल्य क्षेत्र वाहेक वाम गठवन्धनले अपार सफलता हासिल गर्यो । त्यहि चुनावमा उपेन्द्र यादवको भोट माग्ने मुद्दा पनि याद गर्नुस.....संविधान संशोधन ! आन्दोलन ! मलेठ घटना ! एमाले ! ओली ! उपलव्धिहिन सहादत ! संशोधनको पक्षमा मतदान ! अव विचार गर्नुस आजको सम्झौता कसको अजेण्डाको जित हो । हिजो सम्म संविधान संशोधनलाई राष्ट्रघातको संज्ञा दिनेहरू, संशोधनको 'स' सम्म सुन्न नचाहनेहरू, संविधानलाई संसारकै उत्कृष्ट भन्नेहरु, अन्तराष्ट्रिय समुदायले संशोधनका वारेमा वोल्दा नाक खुम्चाउनेहरू आज लिखित रूपमै संविधान संशोधनको कुरा स्विकारेर मधेशको मुद्दालाई त्यसै विश्व माझ स्थापित गरिदिएका छन् । यो मधेशको मुद्दाको जित हो र यस मुद्दालाघ उठाउने उपेन्द्र यादव लगायत एक/एक मधेशवादि नेताको नैतिक विजय हो । यो तथ्य सायद लेखक ज्यूलाई अपच भएको जस्तो अनुभुति लेख पढेर भयो । अन्तमा मुलुक वनाउन प्रत्येक पक्षले आ-आफ्नो अडानमा लचकता अपनाउनै पर्छ । ओली र उपेन्द्र त्यसकै उदाहरणिय पात्र हुन । मधेशले पनि अधिकार, पहिचान र आत्म सम्मान सहितको समृद्ध नेपाल खोजेका छन् र मुलुक पनि समृद्धिको अभियानमा मधेशी हातहरुलाई सहयात्री वनेको हेर्न चाहेका छन् । त्यसो भएर आफ्नो लेखनिलाई समृद्धिको सह-यात्रीका रुपमा डोर्याउनु पर्ने अपरिहार्यता सहितको दायित्यव वोध महशुस गर्नुस । एक अर्काको सह-अस्तित्व स्विकार्न सकिने वानिको विकास गर्नुस । धेरै अपच हुन्छ भने योग र अध्यात्म तर्फ लाग्नुस तर उक्साउने काम वन्द गर्नुस, विनम्र अनुरोध !!

-Niraj yadav
Upendra Yadav gee le derae ramro Kam gare Ko xa t tha usbata des Ko auta ramro bikas tarph jadai Lage Ko xa sabai part haru Matra birodh ma hunxa tar kasae lae t suruwat t garnu parxa ni tyasaele Upendra Yadav gee le suruwat gare Ko xa

Shambhu ke.sah
Upendra Yadav lai satta moh matrai x.ta jab samm yasto neta msdhesh ma x.tab samm madhesh ra madheshi KO kalyan hun sakdain.upendra pahile pani Gaddari Gare ta ahile pani tyahi garyo.bhabisya ma upendra KO name kalo axar le lekhine x.ta yasto neta lai madheshi janta kahilyai yad gardain.

Nabin Babu Khanal
Patrakar bandhu tapaiko lekh jimmewari patrakarita bhanda bahira lagyo. Saknuhunxa bhane tyo sambidhan samsodhan ko bisaye k ho tesko lagi bhaladmi bahas chalaunus, dherai ramro hunxa.

Kp poudel
समाचार पढे खुसी लागो पढ्दै गए दुख लागो तर मेरो सोच मा कुनै बाहुन वाद पनि छैन कुनै मधेष वाद पनि छैन म कुनै पार्टी को व्यक्ती पनि होइन । मलाइ के लाग्छ भने हामी नेपाली को वानी सुन्तोला रोपो रोप्ने बितिकै फलिहालोस खान पाइहालु । यस्तो भनेको सपनामा लड्डु खाए जस्तो मात्र हुन्छ ।फल्नलाइ समय लाग्छ । मल जल गर्नु परो यो गर्ने काम हाम्रो हो । तर हामिले यसरी हागा काट्ने काम गरेउ भने त्यो कहिले फल्ने कहिले फुल्ने बरु मर्न सक्छ बिरुवा ।म र म जस्तै ले यहि ठान्ने हो भने राम्रो हुन्थियो कि!! अर्को कुरा सबै लाई मिलाएर राख्नु के पि ओलि को के नराम्रो पक्ष हो र ? तपाईं के आफ्नो बगैचामा सबै थरिका फल फुल मिलाएर राख्न चाहनु हुन्न ? यो लेख ले के दर्साउन चाहनु हुन्छ ? के सन्देश दिन खोज्नु भको ? फेरि देश मा रक्तपात बनाउनलाइ दस्ताभेज बनाउनु भको हो ? मेरो यो प्रश्न यो लेख लेख्ने आदरणिय मानव लाई ।। जय देश ।।।

prabhat
biprit budhhi binaase kaaal....he is playing rambaran part 2.....

Bishnu chaulagai
किशोर दहाल जी तपाई को बिचार पढ्दा राम्रो त लाग्यो तर उपेन्द्र यादब ले समाएको लाईन खराब हो भन्ने पुष्टी गर्न खोज्नु भए जस्तो लाग्यो।।।

आकास
यो लेख तराइका जनता भड्काउने तथा उपेन्द्र यादवको राजनति सिध्याउने जस्तो पो लाग्यो।। विकास र सम्मृधी को लागि आवस्यक परे सम्सोधन गर्न सकिन्छ भने पछि त भै गो नि त।।।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार