काठमाडौं– सवारी दुर्घटनाको मुद्दामा ५ वर्षअघिदेखि साउदी जेलमा रहेका नवलपरासी मध्यविन्दु नगरपालिका ८ का थानेश्वर भुसाल सोमबार जेलबाट छुटेका छन्। ५ वर्षदेखि साउदीको जेलमा बन्दी जीवन बिताइरहेका भुसाललाई सोमबार साउदीको अदालतले रिहा गरेको प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) ले जनाएको छ।
भुसाललाई जेलमुक्त गर्न पिएनसिसीले विभिन्न दाताको सहयोगमा ४५ लाख रुपैयाँ संकलन गरेको थियो। उक्त रकम बुझाएर भुसाल जेलमुक्त भएको पिएनसिसीका अध्यक्ष कुलप्रसाद कार्कीले जानकारी दिएका छन्।
भुसाललाई जेलबाट छुटेपछि जेद्दास्थित महावाणिज्य दूतावासमा ल्याएको पिएनसिसीले जनाएको छ। भुसाललाई डिपोर्टेसन सेन्टरबमा पठाएर नेपाल फर्काउने तयारी हुँदै छ।
रोजगारीका लागि साउदी अरब गएका भुसालले चलाएको गाडीले अगाडीको गाडीलाई ठक्कर दिदाँ एक पाकिस्तानी र एक साउदी नागरिकको ज्यान गएको थियो। साउदीको अदालतले दुर्घटनामा परी घाइते भएका भुसाललाई दोषी ठहर गर्दै पीडित परिवारलाई (१ लाख ५० हजार रियाल) ४५ लाख रुपैयाँ ‘ब्लडमनी’ स्वरुप क्षतिपूर्ति भराउन आदेश जारी गरेको थियो।
गैरआवासीय नेपाली संघ एनआरएनएले भुसाललाई जेलमुक्त गर्न १२ लाख ५० हजार रुपैयाँ सहयोग गरेको थियो। पिएनसिसीले ‘थानेश्वर बचाउ अभियान’ चलाएर साउदी, कुवेत, युएई, अस्ट्रेलिया, मलेसिया, कोरिया लगायतका देशबाट त्यसबाहेकको रकम संकलन गरी ब्लडमनी जुटाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।