सुनसरी– चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा बहुचर्चित उत्तर–दक्षिण कोसी सडक आयोजना अन्तर्गत ट्र्याक खोल्ने काम संखुवासभाको भोटखोलामा पुगेर रोकिएको छ।
ट्र्याक खोल्न ठूला अक्कर फोड्नुपर्ने भए पनि त्यसका लागि ब्लास्टिङ मेसिन नभएकाले काम स्थगित भएको हो। स्काभेटरले ट्र्याक खोल्न असम्भव भएको ठाउँमा ब्लास्टिङ मेसिनको प्रयोग हुँदै आएको छ। तर, नयाँ मेसिन आउन ढिला हुँदा काम रोकिएको सडक आयोजना प्रमुख पशुपति ज्ञवालीले बताए।
ट्र्याक खोल्न तीन वटा ठेकेदार कम्पनीले तीन चरणमा काम गरिरहेका छन्। एकुवादेखि हटियासम्म स्वच्छन्द याक्थुङ्गहाङ्ग पुष्पाञ्जली कम्पनीले काम गरिरहेको छ भने हटियादेखि चेपुवासम्म मोतीदान गुजुरमुखी गिताञ्जलीले र चेपुवादेखि किमाथांकासम्म शर्मा एपेक्सले ट्र्याक खोलिरहेको छ। त्यसमध्ये शर्मा एपेक्सको काम भाटखोला पुगेर अवरुद्ध भएको हो।
एकुवाबाट हटियासम्मको १७ किलोमिटरमध्ये १० किलोमिटर ट्रयाक खोलिसकिएको र बाँकी ७ किलोमिटरमा काम भइरहेको ज्ञवालीले जानकारी दिए। त्यस्तै, हटियादेखि चेपुवासम्मको ३० किलोमिटरमध्ये १८ किलोमिटर ट्र्याक खोल्न बाँकी छ भने चीनको बाटो भएर आउने छोङ्गसुरदेखि किमाथांकासम्मको १९ किलोमिटर ट्रयाक खोलिसकिएको छ। बाँकी ५ किलोमिटरको ट्र्याक खोल्न ब्लास्टिङ मेसिनको अभावले रोकिएको आयोजना प्रमुख ज्ञवाली बताउँछन्।
भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटे भने स्थानीयवासीलाई पायक नपर्नेगरी ट्र्याक खोल्ने काम भएकाले समस्या आएको बताउँछन्।
उनी भन्छन्, ‘भोटखोलाका जनताको जनघनत्व भएको ठाउँभन्दा अर्कै बाटो सर्वे भएकाले समस्या आएको होे।’
उता आयोजना प्रमुख ज्ञवाली भने सर्वेबाट निकालिएको नक्सा अनुसार नै काम हुने बताउँछन्। हटियादेखि चेपुवासम्मको बाटोको असारसम्ममा ट्र्याक खोलिसक्ने र बाँकी कामका लागि केही समय लाग्ने ज्ञवालीको भनाइ छ।
अहिले पनि संखुवासभाको सदरमुकाम खाँदबारीबाट एकुवासम्म गाडी पुग्छ। बहुचर्चित यस आयोजनाले भारतको जोगबनी, विराटनगरको रानी भन्सार हुँदै चीनसम्म जोड्छ। जुन सडक नेपालबाट चीन र भारत जोड्ने सबैभन्दा छोटो दूरीको हुनेछ। रानीदेखि किमाथांकासम्म ३ सय ९० किलोमिटर दूरी पर्छ।
चीन, भारत र नेपालबीचको त्रिदेशीय व्यापारिक लाइन विस्तार गर्न यो आयोजना अत्यन्तै महत्त्वपूर्ण मानिएको छ। व्यापारिक र पर्यटकीय हिसाबले पनि यो आयोजना सम्पन्न भएपछि नेपालले व्यापार र पर्यटनबाट फाइदा लिने मानिएको छ। तर, उक्त आयोजनामा आवश्यक पर्ने उपकरणको अभावमा बारम्बार काम रोकिने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।