काठमाडौं- रत्न प्रजापतिको नयाँ कथासङ्ग्रह ‘स्वच्छन्द साँझ’ बजारमा आएको छ।
कथासङ्ग्रहको भूमिकामा डा. लक्ष्मणप्रसाद गौतमले लेखेका छन्, ‘कथाकार रत्न प्रजापतिका कथाले विषय र शैलीको पृथक्ताका कारण पाठकमा बेग्लै किसिमको संवेदना छोड्छन् र पाठकीय सम्मोहन उनका कथाको अर्को शक्ति हो। यो उत्तरवर्ती नेपाली कथाको आवश्यकता पनि हो। युगीन चेतनासँग पनि उनका कथा त्यत्तिकै नजिक छन् भने मानवीय संवेदनालाई पनि उनका कथाले त्यत्तिकै समातेका छन् र उनी उत्तरवर्ती नेपाली कथाका फाँटमा आफ्नो पृथक् पहिचान राख्न समर्थ छन्।’
‘स्वच्छन्द साँझ’ कथासङ्ग्रहभित्र २०६१ देखि २०६७ सालसम्म विभिन्न पत्रपत्रिकामा छापिएका ‘रिस’, ‘फागुको रङले तरङ्गिएको मन’, ‘खुस्केकी आइमाई’, ‘आघात’, ‘धोका’, ‘चङ्गा’, ‘पिँढी’, ‘सडकबासी’, ‘पाहाँचर्हे’, ‘बेतुक’, ‘स्वच्छन्द साँझ’, ‘तरङ्ग’, ‘उफान’, ‘ऐँठन’, ‘एउटा अर्को अध्यायको सङ्घारमा’ लगायतका २५ वटा कथा सङ्गृहीत छन्।
केही दिनअघि मात्रै उनको ‘बदाम बेच्ने केटी’ कथासङ्ग्रह बजारमा आएको थियो। यो सङ्ग्रहलाई साझा प्रकाशनले प्रकाशन गरेको हो ।
यसअघि उनको २०६१ सालमा साझा प्रकाशनबाटै ‘बिसन्चो’ र २०६६ सालमा रत्न पुस्तक भण्डारबाट ‘सेतो बादल’ कथासङ्ग्रह प्रकाशित भएका थिए। यीबाहेक उनका करिब एक दर्जन बालकथासङ्ग्रह, एउटा गीत सङ्ग्रह र एउटा गजलसङ्ग्रह पनि प्रकाशित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।