काठमाडौं– सुन तस्करी प्रकरणका एक मुख्य अभियुक्त मानिएका चूडामणि उप्रेती ‘गोरे’ पक्राउ परेपछि धेरै तथ्यहरु खुल्ने आशा गरिएको थियो। राजनीतिक नेतृत्वमा सुन तस्करी भइरहेको संकेत गर्दै आइतबार उनी जेल गएका छन्। गोरे पक्राउ परेपछि सुन तस्करीको अनुसन्धान थप पेचिलो बनेको छ।
जिल्ला अदालत मोरङमा दिएको बयानमा उनले तस्करीमा आफू सामान्य व्यक्ति भएको जनाउँदै यसमा नेता र उच्च पदस्थ प्रहरीहरुको संलग्नता दाबी गरेका छन्। प्रहरीको अनुसन्धानले पनि उनी नाइके नभई समूहका एक मुख्य व्यक्ति मात्र भएको देखाएको छ। त्यसकारण गोरे पक्राउ परेपछि पनि तस्करीका पर्दा पछाडि को–को छन् भन्ने रहस्य कायमै छ।
गोरे पक्राउ परेपछि यो प्रकरणका धेरै रहस्य खुल्ने अपेक्षा गरिएको थियो। तर, गोरेले आफू सामान्य व्यक्ति भएको र यसमा ठूला मान्छेहरु रहेको बताएपछि यो अनुसन्धान थप जटिल बन्न पुगेको छ। उनले आफू असुरक्षित रहेको बताउनु र यसमा कुख्यात माफिया दाउद इब्राहिम समूहको समेत संलग्नता खुलाउनुले सुन तस्करीको गिरोह कति बलियो छ भन्ने देखाउँछ।
उनले तस्करीका मुख्य लगानीकर्ताहरु भारतीय भएको र उनीहरुको दाउदसँग सम्बन्ध भएको बताएका छन्। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको छानबिन समितिले गोरेले संकेत गरेको गिरोहलाई पत्ता लगाउन सक्छ कि सक्दैन धेरैका लागि चासोको विषय भनेको छ।
तस्करीका एक मुख्य पात्र भुजुङ गुरुङ करिब ४ दशकदेखि यो धन्दामा सक्रिय व्यक्ति हुन्। गृहको छानबिन समितिलाई दिएको बयानमै उनले आफूले पञ्चायत कालदेखि नै सुन तस्करी गरेको स्वीकारेका छन्।
विगतमा पनि उनको नाम ‘सुन तस्कर’का रुपमा कुख्यात थियो। तर, उनीजस्ता व्यक्तिलाई कारबाही गरी निरुत्साहित गर्ने काम किन हुन सकेन? त्यस्तै, २०७० सालमा कोटेश्वरमा ३५ किलो सुन समातिँदा त्यसका मालिकका रुपमा मोहन अग्रवाल समातिएका थिए। पक्राउ परेपछि पनि उनले प्रहरीसँगै मिलेर आफ्नो धन्दा चलाइरेहका थिए। यो अवस्थाले के देखाउँछ भने, अहिले केही व्यक्तिहरु पक्राउ परेपछि सुन तस्करी रोकिने छैन र उनीहरु फेरि छुटेपछि सुन तस्करीमै संलग्न नहोलान् भन्न सकिन्न।
गोरेले आफू हिरासतमै असुरक्षित रहेको बताउनुले पनि तस्करीमा शक्तिशाली व्यक्तिहरुको संलग्नतालाई संकेत गर्छ। एयरलाइन्सका कर्मचारीदेखि प्रहरीसम्मलाई हात लिएर ५ वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्नेहरुको राजनीतिक नेतृत्वसँग कनेक्सन नहोला भन्न सकिन्न।
पक्राउ परेकामध्ये भुजुङ आफैं राप्रपा प्रजातान्त्रिकका नेता हुन् भने अर्का राजेन्द्र शाक्य धेरै नेताहरुसँग राम्रो सम्बन्ध भएका व्यक्ति हुन्। त्यसकारण बयानी अनुसन्धानभन्दा प्रहरीले प्रमाणका आधारमा सूक्ष्म अनुसन्धान गर्नुपर्छ।
यो प्रकरणमा धेरैको चासो नपुगेको अर्काे पाटो भनेको नेपाल–भारतको खुला सीमाना हो। उनीहरुले तस्करी गरेको करिब ८० प्रतिशत सुन भारत लगेका छन्। केरुङ नाकाबाट तस्करी हुने धेरै सुन पनि भारत नै जाने गरेको छ।
सीमा क्षेत्रबाट सजिलै यति ठूलो मात्रामा सुन तस्करी हुँदा पनि किन दुवै देशको सिमानामा तैनाथ सुरक्षाकर्मीले केही चाल पाइरहेका छैनन्? यो दुई देशबीचको सुरक्षामाथि गम्भीर सवाल हो।
सीमाबाट ठूलो मात्रामा लागूऔषध, हातहतियारको पनि तस्करी हुँदै आएको छ। खुला सीमानाकै कारण विगतमा नक्कली नोट कारोबारीले नेपाललाई ट्रान्जिट बनाएर भारतमा तस्करी गर्थे।
खुला सीमाकै कारण अन्तर्राष्ट्रिय गिरोहले सुन तस्करीमा नेपाललाई ट्रान्जिट बनाउन थालिसकेका छन्। यो घटनाले खुला सीमा व्यवस्थापनमा पनि आँखा खोलिदिएको हुनुपर्छ। विश्वका दुई शक्तिशाली छिमेकीको बीचमा रहेको नेपाल अन्तर्राष्ट्रिय माफियाहरुको ‘ट्रान्जिट देश’ बन्ने जोखिम बढिरहेको छ।
नेपालमा बेला–बेला संगठित अपराधका अपराधीहरु पक्राउ पर्ने तर अपराध झन् झन् बढिरहने भइरहेको छ। यस्ता ठूला अपराधीहरु अदालतबाट छुट्ने र फेरि अपराधमा संलग्न हुने गरेका छन्।
पौडेल नेतृत्वको छानबिन समितिको म्याद जेठको अन्तिमसम्म मात्र छ। यो अवधिमा समितिले सनम शाक्य हत्या र सो समूहले गरेका अपराधका थप केही पाटो पत्ता लगाउला, तर राजनीतिक सम्बन्ध र दाउदसम्मको सञ्जाल पहिल्याउन गाह्रो छ।
आइतबार संसद्मा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करी लगायत सबै किमिसका तस्करी अन्त्य गरिने प्रतिबद्धता जनाए। त्यसका लागि उनले तस्करुहरुप्रति कठोर बनी राज्यका संयन्त्रलाई दुरुस्त र बलियो बनाउनु जरुरी छ।
गोरेको पक्राउपछि सुन तस्करी प्रकरण ‘मध्यान्तर’मा पुगेको छ। जसरी एउटा रहस्यमा पुगेर फिल्ममा मध्यान्तर हुन्छ, यो अनुसन्धान पनि त्यस्तै रहस्यमय मध्यान्तरमा पुगेको छ।
सुन तस्करीमा संलग्न वास्तविक नाइकेहरु पक्राउ गर्न र यसको अन्तर्राष्ट्रिय जालो पत्ता लगाई छिन्नभिन्न बनाउन समितिको रिपोर्टका आधारमा सरकारले अर्काे शक्तिशाली समिति गठन गर्नुपर्ने हुन्छ। यसबाट राज्यका विभिन्न निकायमा रहेका छिद्रहरु समेत पत्ता लगाई त्यसमा सुधार गर्नुपर्छ। मध्यान्तरमा रहेको यो अनुसन्धानको ‘क्लाइमेक्स’ कस्तो आउँछ, वास्तविक भिलेनहरु पत्ता लाग्छ कि लाग्दैन, त्यो राज्यका निर्देशक अर्थात् सरकारको इच्छाशक्तिमा निर्भर हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।