काठमाडौं– अभिनेता अनमोल केसी नेपाली फिल्म उद्योगमा अहिले व्यस्त कलाकार मानिन्छन्। अनमोलले अभिनय गरेका फिल्मभन्दा उनलाई मात्र हेर्न हलसम्म आउने दर्शकको संख्या पनि उल्लेख्य छ। ‘चकलेटी’ नायकका रुपमा कहलिएका अनमोल केही समयअघि फिल्म ‘कृ’मा एक्सन अवतारमा पनि देखिए।
अनमोलको एक्सनलाई दर्शकले रुचाएनन् या फिल्मको कथावस्तुले दर्शकको मन छोएन, फिल्म ‘कृ’ले बक्स अफिसमा चित्त बुझ्दो व्यापार गर्न सकेन। फिल्मले राम्रो व्यापार गर्न नसके पनि युवामाझ अनमोलको चर्चामा भने खासै अन्तर आएन।
यसको उदाहरणका रुपमा लिन सकिन्छ, निर्माताहरुबीच अनमोललाई आफ्नो फिल्ममा अभिनय गराउन चलेको होड। यही होडले अनमोलको ‘स्टार्डम’सँगै पारिश्रमिक पनि बढिरहेको छ।
बुवा भुवन केसीको रोजाइअनुरुप मात्र अभिनयका लागि सहमति जनाउने गरेका अनमोलले फिल्म ‘कृ’को प्रदर्शनपछि ४ वटा फिल्ममा जोडिएका छन्। यतिबेला उनी फिल्म ‘क्याप्टेन’को सुटिङमा व्यस्त छन्।
अनमोल ‘क्याप्टेन’ लगत्तै ‘ए मेरो हजुर ३’ मा व्यस्त हुने भएका छन्। ‘ए मेरो हजुर ३’ पछि अनमोलले निर्देशक मिलन चाम्सको अनटाइटल प्रोजेक्टमा काम गर्ने सहमति जनाइसकेको निर्देशक चाम्सले जानकारी दिएका छन्।
त्यसलगत्तै अनमोल नेपाल र भारतका केही निर्माताको समूह मिलेर निर्माण गर्न लागेको अर्को अनटाइटल फिल्ममा व्यस्त हुनेछन्। उनले गत साता नेपाल र भारतका निर्माताहरु मार्फत केही एड्भान्सका रुपमा पारिश्रमिक लिएको समाचार समेत आएको थियो।
यसरी अनमोल एकपछि अर्को फिल्ममा लगातार अनुबन्ध हुँदा उनको फिल्मी करिअरमा त अवश्य नै इट्टा थपिनेछ। तर कस्तो फिल्म खेल्ने, त्यसका लागि कति अध्ययन गर्ने, आफूले निर्वाह गर्नुपर्ने भूमिकालाई कसरी न्याय दिनेजस्ता विषयमा अनमोल गम्भीर हुन सकेनन् भने उनले पाउने भनेको असफलता नै हो भनेर आशंका गर्न सकिन्छ।
नेपाली सिने बजारमा अनमोलको अभिनयमा निखारताभन्दा एकतर्फी रुपमा ‘स्टार्डम’ मात्रै चुलिएको टिप्पणी समेत हुँदै आएको पाइन्छ। यस टिप्पणीलाई चिर्न पनि अनमोलले पछिल्लो फिल्म ‘कृ’को अनपेक्षित नतिजाबाट सिक्नुपर्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।