धनगढी– कैलालीको धनगढी चौराहमा एक जनामाथि गोली प्रहार गरि ९ लाख ५० हजार रकम लुटेका छन्। लुटपाटमा संलग्नहरुलाई अत्तरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सिद्धार्थ बैंकबाट पैसा निकालेर आफ्नो कार्यलयमा जाने क्रममा आइएमइ सेन्टरमा कार्यरत निर्मल कार्कीमाथि गोली प्रहार भएको हो। लु ४० प ४४३८ नम्वरको मोटरसाईकलमा आएका दुई जना अपरिचित ब्यक्तिले धनगढीको सव्जीमण्डीमा गोली प्रहार गरि रकम लुटेका हुन्।
पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन। प्रहरीले लुटिएको साढे ९ लाख रुपैयाँसमेत बरामद गरिसकेको बताइएको छ।
कार्कीको अहिले सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाईतेको दायाँ हातमा गोली लागेर हड्डी टुक्रा–टुक्रा भएको र छातीको बाहिर सामान्य घाउ भएको प्रारम्भिक रिपोर्टले देखाएका छ । सेती अञ्चल अस्पतालमा सामान्य उपचारपछि रेफर गर्ने तयारी गरिएको छ।
केही व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान जारी रहेको कैलालीका एसपी बिनोद घिमिरेले बताए। गोली प्रहारमा प्रयोग गरिएको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।