काठमाडौं– कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाहा गर्ने सरकारको तयारीविरुद्ध आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। द्वन्द्वपीडित साझा चौतारी (सिभिसिपी)ले द्वन्व्वपीडित हत्याका दोषी ढुंगेललाई कैद माफी दिन नहुने भन्दै प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागीहरुले बालकृष्ण ढुंगेललाई रिहा गर्न पाइँदैन, दण्डहिनताको अन्त्य गर, द्वन्द्वपीडितलाई न्याय देउजस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
२०६१ मा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो। सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो। पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको हो। फैसलाको करिब ८ वर्षसम्म पनि फैसला कार्यान्वयन भएको थिएन।
गत कात्तिक ७ गते सर्वाेच्च अदालतले एक साताभित्र ढुंगेललाई पक्राउ गर्न नेपाल प्रहरीका तत्कालीन आइजिपी प्रकाश अर्याललाई आदेश दिएपछि उनी कात्तिक १४ गते पक्राउ परेका थिए।
डिल्लीबजार कारागारमा रहेका ढुंगेललाई कारागार नियमावलीकै प्रावधान अनुसार कैद मिनाहा गर्न लागिएको हो। कारागार नियमावलीमा ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलनको आधारमा कैदीलाई छाड्न सक्ने प्रावधान छ। सोही प्रावधान अनुसार उनलाई गणतन्त्र दिवसको दिन आगामी जेठ १५ गते छाड्न लागिएको हो।
असल चालचलन भएको कैदीको प्रावधान लागू गरी करिब ८ सय ५० कैदीलाई कैदी माफीका लागि कारागार व्यवस्थापन विभागले सूची गृह मन्त्रालयमा पठाइसकेको छ।
ढुंगेललाई छाड्न लागिएको खबर बाहिर आएपछि कतिपयले यस घटनाको विरोध गर्दै आएका छन्। तत्कालीन नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका ढुंगेललाई जेलमुक्त गर्ने सरकारको प्रक्रियाविरुद्ध सर्वाेच्च अदालतमा रिटसमेत दायर भएको छ। बिहिबार अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन्।
कैद माफी प्रक्रिया रोक्न माग गर्दै रिट दायर भएको हो। कैद माफीको प्रक्रिया गैरकानुनी भएको रिटमा दाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।