डब्लिन– आयरल्याण्डमा गर्भपतनसम्बन्धी कानुनमाथि भएको जनमत संग्रहको औपचारिक नतिजामा ६६ दशमलब ४ प्रतिशत मतदाताले कानुनलाई उदार बनाइनुपर्ने पक्ष अर्थात् गर्भपतनलाई मान्यता दिइनुपर्ने पक्षमा मतदान गरेको देखिएको छ।
बहुमत जनताले गर्भपतनमाथि सशक्त प्रतिबन्ध लगाएको संवैधानिक व्यवस्था हटाउने पक्षमा मतदान गरेको सङ्केत सुरुवाती नतिजाले देखाएको हो।
आएरल्याण्डका ४० निर्वाचन क्षेत्रमा भएको मतदानको अन्तिम मत परिणामहनुसार ३३ दशमलब ६ प्रतिशत भने सो व्यवस्थाको विपक्षमा देखिएका छन्। योसँगै अब आयरल्यान्डमा पनि गर्भपतन गर्न पाइने नियम संविधानमा समेत लेखिन स्पष्ट भएको छ।
गर्भपतनसम्बन्धी कानुनमा सुधार ल्याइनुपर्ने पक्षधर अभियानलाई समर्थन गरेका आयरल्याण्डका प्रधानमन्त्री लीओ भराडकरले मुलुकले ‘इतिहास रच्न लागेको’ बताएका छन्।
शुक्रबारको जनमत संग्रहमा मतदाताहरूलाई आठौँ संशोधन भनिने संविधानमा भएको प्रावधान हटाउनुपर्छ वा राख्नुपर्छ भन्ने प्रश्न सोधिएको थियो।
संविधानमा भएको व्यवस्थाले गर्भवती महिलालाई जस्तै गर्भमा रहेको बच्चाको पनि अधिकार रहेको उल्लेख गरेको छ।
द आइरिस टाइम्स र आरटीइले गरेको मत सर्वेक्षणका अनुसार ६९ प्रतिशत मतदाताले गर्भपतनमाथि सशक्त प्रतिबन्ध लगाएको संवैधानिक व्यवस्था हटाउने पक्षमा मतदान गरेका बताइएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।