सिओल– दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इन र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच शनिबार कोरियाली सीमाक्षेत्रमा रहेको शान्ति क्षेत्र पानमुनजोममा दोस्रो शिखर सम्मेलन भएको छ।
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसका अनुसार दुई नेताले पानमुनजोमको उत्तर कोरियाली गाउँमा स्थानीय समयअनुसार शनिबार दिउँसो ३ बजे भेट गरेका थिए। उनीहरुबीच करिब दुई घण्टा सम्वाद भएको जनाइएको छ।
भेटमा दुई नेताले गत अप्रिल २७ मा भएको पानमुनजोम घोषणापत्रको कार्यान्वयनबारे एक आपसमा विचार आदानप्रदान गरेका थिए। उनीहरुले उत्तर कोरियाली नेता तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने भनिएको तर विविध कारणले अनिश्चित बनेको शिखर सम्मेलनलाई कसरी सफल पार्ने भन्ने विषयमासमेत छलफल गरेका दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ।
छलफलपछि उत्तर कोरियाली नेता उनले अमेरिकी राष्ट्रपति ट्रम्पसँग आगामी जुन १२ मा नै भेटवार्ता होस् भन्ने पक्षमा आफु रहेको बताएका उत्तर कोरियाको राज्य सञ्चालित समाचार संस्था केसिएनएले जनाएको छ। नेता उनले जुन १२ को भेटवार्ता स्थगित नभएको पनि जनाएका छन्।
दुवै नेताहरु भेटवार्तालाई जारी राख्ने सम्बन्धमा पनि एकमत देखिएका छन्। सिंगापुर वार्ताका लागि दिएको योगदान र प्रयासका लागि नेता किमले राष्ट्रपति इनलाई धन्यवादसमेत दिएको राष्ट्रपति इनका प्रवक्ताले जानकारी दिए।
उनीहरुबीचमा आगामी शुक्रबार दुवै देशका उच्च अधिकारीबीच भेटवार्ता गर्ने समेत सहमति भएको जनाइएको छ। तर यससम्बन्धि विस्तृत जानकारी भने दिइएको छैन।
मुनले शिखर सम्मेलनबाट निस्केका निचोडबारे आइतबार बिहान जानकारी गराउने कार्यक्रम रहेको ब्लु हाउसले जनाएको छ। यसबारे राष्ट्रपतिको कार्यालयले विस्तृत विवरण भने दिएको छैन।
मुन र किमबीच गत अप्रिल २७ मा पहिलोपटक भेट भएको थियो भने उक्त भेटमा दुई नेताले कोरियाली प्रायद्वीपलाई पूर्णतया आणविक हतियारविहीन बनाउने र लामो समयदेखि कायम रहेको युद्धविराम सम्झौतालाई शान्ति सम्झौतामा रूपान्तरण गर्ने सहमति भएको थियो।
अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीबार मात्रै उत्तर कोरियाली नेता किमलाई चिठ्ठी लेखी सिङ्गापुरमा हुने भनिएको किमसँगको शिखर सम्मेलन तत्कालका लागि अगाडि बढाउन नसकिने बताएका थिए। अमेरिकी राष्ट्रपतिले सम्मेलन रोकिनुको कारण उत्तर कोरियाद्वारा देखाएको खुला विरोध भएको जनाएको थियो।
बिहीबार ट्रम्पले किमलाई पठाएकोे पत्रमा लेखिएको थियो, ‘दुःखका साथ म यो जानकारी गराउन बाध्य छु कि उत्तर कोरियाको पछिल्ला खुल्ला आलोचनात्मक व्यवहार र गतिविधिहरूका कारण दुई पक्षीय शिखर वार्ता गर्न अहिले उपयुक्त समय नभएको महशुस गरिएको छ।’
यसअघि अमेरिकी उपराष्ट्रपति माईक पेन्सले सिंगापुरमा हुने भनिएको किम र ट्रम्पबीचको शिखर वार्ता हुने विषयमा शङ्का व्यक्त गरेका थिए। त्यसको जवाफमा उत्तर कोरियाले पेन्सलाई ‘अज्ञानी र मुर्ख’ को संज्ञा दिएको थियो।
ट्रम्पको पत्र उत्तर कोरियाको यसै भनाइपछि आएको थियो। तर अमेरिकाले उत्तर कोरियाली नेतालाई लेखेको पत्रपछि उत्तर कोरियाली अधिकारी र अमेरिकी राष्ट्रपतिबीच सम्वाद नटुटाउने विषयमा कुरा भएको भन्ने सूचनाहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका छन्।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले भने सिंगापुरमा हुनसक्ने शिखर वार्ताको तयारीका लागि एक उच्चस्तरिय प्रतिनिधि मण्डल यसै साताको अन्त्यमा सिंगापुर जाने खुलासा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।