काठमाडौं– मलेसिया जाने कामदारमाथि विभिन्न बहानामा भइरहेको ठगी रोक्न सरकारले गरेको पछिल्लो निर्णयसँगै एक सातादेखि त्यहाँ जाने कामदारको पूर्व श्रम स्वीकृति रोकिएको छ। पूर्व श्रम स्वीकृति रोकिएपछि मलेसिया जाने कामदार अन्योलमा परेका छन्। वैदेशिक रोजगार श्रम ताहाचाल कार्यालयले शूक्रबारदेखि पूर्व श्रम स्वीकृति वितरण नगरिएको जनाएको छ।
सरकारी निर्णयसँगै भीसा प्रक्रिया पूरा भइसकेका कामदार बाहेक नयाँ रोजगारीमा मलेसिया जाने कामदारले पूर्व श्रम स्वीकृतिका लागि आवेदन भर्न पाएका छैनन्। उनीहरुको भीसा प्रक्रिया रोकिएको छ। अब पहिला नै भीसा लागिसकेका कामदार बाहेक तत्कालै मलेसिया जान पाउने अवस्था छैन।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्व श्रम स्वीकृति रोकेको विषयमा औपचारिक निर्णय सार्वजनिक भने गरेको छैन। मन्त्रालयले जीएसजी, माइग्राम्स, बायोमेटिक, ओएससी, भीएलएन खारेज गरेपछि पूर्व श्रम स्वीकृति बन्द भएको थियो। यो विषयमा मन्त्रालय मलेसिया सरकारको निर्णय कुरेर बसेको छ। जसका कारण रोजगारीका लागि मलेसिया जाने कामदारमा अन्योल छाएको छ। मन्त्रालयको निर्णयले मलेसियाको रोजगारी नै बन्द हुने कि भनेर कामदार सशंकित भएका छन्।
मन्त्रालयका सचिब महेशप्रसाद दाहाल भने पूर्व श्रम स्वीकृति मन्त्रालयले बन्द नगरेको, बरु मलेसिया जाने कामदारमाथि रहेको आर्थिक भार हटाउन सरकारीस्तरमा कूटनीतिक पहल गरिरहेका बताउँछन्। उनका अनुसार, द्विपक्षीय सम्झौतामा उल्लेख नगरिएका विषयमा कामदारबाट रकम असुल्ने काम भइरहेको छ।
मनपरी हिसाबले संस्था खोलेर कामदारमाथि आर्थिक भार थपेको रमिता सरकारले हेर्न नसक्ने सचिव दाहालको भनाइ छ। मलेसिया जाने कामदारमाथि लगाइएको आर्थिक भारका विषयमा मन्त्रालयले वार कि पारको निर्णयमा नपुगी नछाड्ने योजनामा रहेको उनले बताए।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट मलेसिया जाने कामदारमाथिको सिन्डिकेट नहेटसम्म त्यहाँ कामदार आपूर्ति नगर्ने पक्षमा रहेका मन्त्रालय स्रोतको भनाइ छ। स्रोतका अनुसार, सहज र कम शुल्क र कामदारलाई आर्थिक भार नपर्नेगरी वैदेशिक रोजगारमा युवा आपूर्ति गर्ने पक्षमा मन्त्री छन्।
मलेसियामा हालै निर्वाचित प्रधानमन्त्री महाथिर बिन मोहम्मदले विदेशी कामदारमाथि लगाइएको आर्थिक भार हटाउने विषयमा चुनावी प्रचारमा घोषणा गरेका थिए। महाथिर विगतदेखि आप्रवासी कामदारका मुद्दामा सकारात्मक रहँदै आएका नेता पनि हुन्। जसका कारण कूटनीतिक रुपमा अहिले नेपालले गरिरहेको पहल सफल हुने विषयमा मन्त्रालय आसावादी छ।
मलेसियाको नयाँ सरकारले यस विषयमा अहिलेसम्म औपचारिक प्रतिक्रिया जनाएको छैन। मलेसियाको नेपालस्थित राजदूतावासले भने नेपालले गत सोमबार अवैध घोषणा गरेर मलेसिया सरकारका तर्फबाट खडा गरिएका संयन्त्रमाथि थालेको छानबिनमा सघाउने जानकारी नेपाललाई गराइसकेको छ। विभिन्न संस्थाले मलेसिया जाने कामदारमाथि १८ हजार ५ सय रुपैयाँ अतिरिक्त रकम लिँदै आएका थिए।
रोजगार व्यवसायी भन्छन् : मलेसियामा कामदार पठाउन स्थगन
वैदेशिक रोजगार व्यवसायी महासंघले सूचना जारी गर्दै मलेसिया जाने कामदारको श्रम स्वीकृति बन्द भएको र रोजगारदाता कम्पनीलाई श्रम स्वीकृति बन्द भएका विषयमा जानकारी गराउने सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीलाई जानकारी गराएको छ।
महासंघले सरकारले मलेसियामा रोजगारीका लागि कामदार जाने प्रक्रिया स्थगन गरेको विषयमा पनि सबै व्यवसायीलाई सूचित गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।