काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफ्नो सम्पत्ति विवरणबारे अनावश्यक टिप्पणी नगर्न आग्रह गरेका छन्।
जेठ ९ गते सरकारका मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गरिएपछि गरिब नेता भनिएका लालबाबुको धेरै सम्पत्ति देखिएको भन्दै टीका–टिप्पणी भएपछि उनले आफ्नो स्पष्टीकरण दिएका हुन्। राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री पण्डितले ससुरालीले दिएको जग्गा नै आफ्नो सम्पत्तिको स्रोत भएको बताए।
मन्त्री पण्डितले आफ्नो सम्पत्ति विवरण चित्त नबुझे बैंकमै गएर हेर्ने छुट सबैलाई रहेको पनि बताए। २०७० सालमा पहिलो पटक मन्त्री भएका उनी यसपाली दोस्रो पटक मन्त्री भएका हुन्। उनले सम्पत्ति विवरणमा मोरङको विराटनगर १२ मा एक कट्ठा जमिनमा ५ कोठे घर भएको उल्लेख गरेका छन्। यस्तै, उनले सर्लाहीको बसबरियामा ४ बिघा पैत्रिक सम्पत्ति भएको उल्लेख गरेका छन्। मन्त्रीपत्नी विमला पण्डितको नाममा भैंसेपाटीमा ४ आना जग्गा रहेको विवरणमा उल्लेख छ।
उनले आफूसँग १० तोला सुन र चाँदी १५ तोला पैत्रिक सम्पत्तिको रुपमा रहेको पनि विवरणमा उल्लेख गरेका छन्।
उनीसँग एभरेस्ट बैंकमा २५ लाख र पत्नीको नाममा कृषि विकास बैंकमा समेत ३० लाख स्वआर्जनमार्फत प्राप्त भएको विवरणमा खुलाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।