एजेन्सी– युरोपियन च्याम्पियन्स लिगको उपाधिका लागि आज राति स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब लिभरपुलबीच प्रतिपर्धा हुँदैछ। युक्रेनको राजधानी किभस्थित ओलम्पिक रंगशालामा नेपाली समयअनुसार राति साढे ११ बजे दुई टिम एकआपसमा भिड्नेछन्।
रियल म्याड्रिड लगातार तेस्रो सिजन उपाधि जितेर युरोपियन फुटबलमा इतिहास बनाउने अभियान छ। यसअघिका २ सिजनमा च्याम्पियन बनेको रियललाई हराएमा लिभरपुलले छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जित्नेछ।
सन् २०१६ को जनावरीमा रियलको प्रशिक्षक बनेयता जिनेदिन जिदानले रियललाई एक पटक ला लिगाको उपाधि र दुई सिजन च्याम्पियन्स लिगको उपाधि जिताइसकेका छन्। यता लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपले भने प्रशिक्षक बनेयता उपाधिको स्वाद चाख्न पाएका छैनन्।
लिभरपुलको टिममा सवै खेलाडी फिट रहेको प्रशिक्षकले बताएका छन्। सिजनमा उत्कृष्ट फर्मा रहेका फरवार्ड मोहमद सलाह लिभरपुलका मुख्य हतियार हुन सक्छन्। यता रियलले फरवार्डमा क्रिस्टियानो रोनाल्डो र थप एक जनालाई खेलाउनेछ। जसमा गारेथ बेल र करिम बेन्जिम मध्ये एकले पहिलो रोजाइमा खेल्नेछन्। च्याम्पियन्स लिगमा रोनाल्डोले अहिलेसम्म १५ गोल गरिसकेका छन्। लिभरपुलका सलाहले १० गोल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।