काठमाडौं– आगामी अगस्टमा इन्डोनेसियामा हुने एसियन गेम्समा नेपालले भाग लिने तय भएको टेनिसको खेलाडी छनोट अहिलेसम्म गरिएको छैन। नेपाल टेनिस संघले ७ महिनाअघि भएको राखेप च्याम्पियनसिपकै आधारमा एसियन गेम्समा खेलाडी सहभागी गराउने तयारी गरिरहेको छ।
छनोटबिना खेलाडी सहभागी गराउन लागिएको भन्दै संघका केन्द्रीय सदस्य पुरुषोत्तम कोइरालाले विरोध गरेका छन्। उनले खेलाडी छनोट गरेर मात्र एसियन गेम्समा सहभागी गराउन संघ तथा राष्ट्रिय खेलकुद परिषदसमक्ष माग समेत गरेका छन्।
उनी टेनिस खेलाडी प्रेरणा कोइरालाका बुबा हुन्। प्रेरणा पछिल्लो समय उत्कृष्ट फर्ममा रहेकी खेलाडी हुन्। उनले गत महिना भएको छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिंगल्स उपाधि जितेकी थिइन्।
यद्यपी टेनिस संघले छनोट प्रतियोगिता नगराउने भएपछि फर्ममा भएका खेलाडी एसियन गेम्स खेल्नबाट बञ्चिन हुन पर्ने अवस्था आएको छ।
कोइरालाले राखेप च्याम्पियनसिपमा सहभागिता जनाएकी थिइनन्। राखेप च्याम्पियनसिप हुने समयमा कोइराला बंगलादेशमा भएको एसियाली टेनिस संघको प्रतियोगिता खेल्न जाने तय भएको थियो। त्यसलै संघकी अध्यक्ष ज्योती राणासँगको सल्लाह अनुसार नै निवेदन दिएर बंगलादेश गएको कोइरालाको भनाइ छ।
अर्कोतर्फ राष्ट्रिय खेलकुद परिषदको विधानअनुसार कुनै प्रतिस्पर्धामा सहभागी हुनका लागि चार महिनासम्मको प्रतियोगितालाई मात्र छनोटको आधार बनाउन सकिने व्यवस्था छ। यद्पयी राखेप च्याम्पिनसिप भएको सात महिना बढि भइसकेको छ।
'छनोट गरेर राम्रो खेलाडीले एसियाडमा नेपालको प्रतिनिधित्व गर्नु पर्छ भन्ने हाम्रो माग हो, ' कोइरालाले भने, 'सात महिनामा खेलाडीको स्तर तलमाथि भइसक्यो। त्यसैले छनोटबिना खेलाडी सहभागी गराउदा प्रतिभाशाली खेलाडीमाथि अन्याय हुन्छ।' यता संघको अध्यक्ष ज्योती राणा भने खेलाडी छनोट गराउने पक्षमा छैनन्। उनले खेलाडी छनोट गर्नुको सट्टा छनोट माग गर्ने केन्द्रीय सदस्य कोइरालालाई स्पष्टिकरण मागेकी छिन्।
राष्ट्रिय खेलकुद परिषदले पनि एसियन गेम्समा खेलाडी सहभागिताको आधार छनोट भएको यसअघि स्पष्ट पारिसकेको छ। नेपाल लाइभसँगको अन्तर्वार्तामा परिषदका सदस्यसचिव केवशकुमार विष्टले भनेका थिए, 'हामी नेपालको खेलाडी गएर पदक प्राप्त गर्न सकोस् भन्ने चाहन्छौं। यसका लागि राम्रा खेलाडी एसियाली खेलकुदमा जानुपर्छ। त्यसलै खेलाडीलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। राम्रो खेलाडीलाई पठाउन नमान्नु भनेको देशको मायाभन्दा पनि जुँगाको लडाइँमा विश्वास रहेछ भन्ने बुझ्नुपर्छ। अहिले विवाद गरेर बस्ने बेला छैन। त्यसैले मैले सबैलाई राम्रो खेलाडी छनोट गरेर पठाउन भनेको छु।'
एसियन गेम्सका लागि टेनिस संघले महिलातर्फ जुम्ल्याहा दिदीबहिनी मायांका राणा र माहिका राणालाई पठाउँदैछ। राणा दिदीबहिनी संघकी अध्यक्ष ज्योती राणाकी छोरी हुन्। यस्तै पुरुषतर्फ संरक्षकभुषण बज्राचार्य र अभिषेक बास्तोलालाई छनोट गरेको छ। चारै खेलाडी अहिले बन्द प्रशिक्षणमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।