विदुर– अवैध रूपमा सञ्चालनमा रहेका क्रसर र बालुवा प्रशोधन केन्द्र बन्द भएपछि त्रिशूली नदी सफा देखिन थालेको छ।
अतिक्रमण बढ्दै जाँदा तथा नदी किनार वरिपरि अवैध र अव्यवस्थित किसिमले बालुवा धुने उद्योग सञ्चालनमा रहँदा मध्य हिउँदमा समेत त्रिशूली धमिलिने गरेको थियो। ऐतिहासिक, पर्यटकीय एवं धार्मिक महत्व बोकेको त्रिशूलीमाथि अतिक्रमण बढ्दै गएपछि स्थानीयको समूह स्वतःस्फूर्त रूपमा त्रिशूली बचाउ अभियानको नारा लिएर अघि बढेको थियो।
अभियानको निरन्तर दबाब र अवैध उद्योगमा प्रशासनको कडाइपछि त्रिशूलीको दोहन केही कम भएको छ। यसमा जनप्रतिनिधि, स्थानीय प्रशासनको भूमिका महत्वपूर्ण रहेको स्थानीयबासी बताउँछन्।
त्रिशूली नदीमाथिको अतिक्रमणका विषयमा जनदबाब आउन थालेपछि प्रदुषण गराउने बालुवा उद्योगमा प्रशासनले कडाइका साथ अनुगमन थालेको थियो। अनुगमनका क्रममा जिल्लाका ४९ वटा क्रसर उद्योगलाई बन्द गराइएको थियो। लामो समयदेखि त्रिशुली नदी दोहनको विषयमा आवाज उठाएकाहरुमा बालुवा प्रशोधन केन्द्र बन्द भएपछि केही उत्साह बढेको छ। बालुवा भएको माटोका कारण नदीनै धमिलिँदै आएकोमा अब त्यो नियन्त्रण भएको जिलिङका रमेश रिजालले बताए।
नदीमा मेसिन प्रयोग गरेर गरिएको अनियमितता नियन्त्रणमा स्थानीय प्रशासनले अभियान सञ्चालन गर्नेमा नागरिक आशावादी छन्। विभिन्न आयोजनाका नाममा त्रिशूलीमा मेसिन प्रयोग गरेर ढुंगा, बालुवा र डस्ट निकाल्ने क्रम तीव्र थियो। साथै अवैध उद्योगहरुका नाममा नदीजन्य पदार्थको चोरी र तस्करी गर्नेहरुको क्रम पनि बढेको छ। यसको नियन्त्रणका लागि अहिले प्रहरी र प्रशासनले गरिरहेको काम सकारात्मक रहेको भन्दै यसलाई व्यापक पार्न नागरिक 8का अगुवाहरुले सुझाव दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।