काठमाडौं– द्वन्द्वपीडितहरुको छाता संस्था 'द्वन्द्वपीडित साझा चौतारी'ले गणतन्त्र दिवसको अवसर पोर हत्याको अभियोगमा दोषी ठहर भई सजाय काटिरहेका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुङ्गेलको माफी न्यायको मर्म र भावना विपरीत भएकाले रोक्न माग गरेको छ।
माफी रोक्न माग गर्दै सर्वोच्चमा दायर रिटलाई गम्भीर रुपमा लिँदै आइतबार छलफलमा बोलाएको अवस्थामा पीडितहरुले यस्तो माग गरेका हुन्।
एक विज्ञप्ति जारी गर्दै चौतारीले ढुङ्गेललाई माफीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारसँग गरेको सिफारिसको निर्णयप्रति द्वन्द्वपीडित तथा पारिवारिक संगठनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति प्रकट गरेको छ।
हत्याजस्तो गम्भीर अपराधमा दोषी ठहर भएको व्यक्तिलाई असल चालचलन भएको भन्दै द्वन्द्वकालीन मुद्दामा सहज माफी दिनु राज्यको ठूलो भुल हुने विज्ञप्तिमा उल्लेख छ।
चौतारीका अध्यक्ष भागीराम चौधरीले जारी गरेको विज्ञप्तिमा पीडितको लामो संर्घषपछि बेपत्ता पारिएका व्यक्ति छानबिन र सत्य निरुपण ऐन संशोधन गर्न लागेको समयमा सरकारले ढुङ्गेललाई माफी दिनु न्यायमा वाधा र चोट पुग्ने व्यवहार भनिएको छ। ‘गम्भीर अपराधका घटनामा राजनीतिक संरक्षण गर्ने प्रवृत्तिले दण्डहीनतालाई मलजल गर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘माफी कार्य तत्काल फिर्ता लिन सरकारसमक्ष चौतारी माग गर्छ।’
डिल्लीबजार कारागारमा रहेका ढुङ्गेल गत कात्तिक १४ मा पक्राउ परेका हुन्। उनलाई जन्मकैद अर्थात २० वर्ष कैद सजाय सर्वोच्चबाटै ठहर भएको छ। कारागार नियमावलीअनुसार ४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएको खण्डमा बाँकी कैद माफी दिन सक्ने प्रावधान छ। उनी द्वन्द्वकालमै साढे ७ वर्ष जेल बसेकाले ४० प्रतिशत कैद भुक्तान गरिसकेका छ्न्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।