काठमाडौं- काठमाडौं महानगरपालिकाले चक्रपथमा मोनोरेल सञ्चालन सम्भाव्यता अध्ययन गर्न चीनको चाइना रेलवे २५औं ब्युरो ग्रुप कम्पनीलाई जिम्मा दिएको छ।
महानगरका प्रमुख विद्यासुन्दर शाक्य र रेल वेका महाप्रबन्धक ली होङ्गकीले अध्ययनसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालमा मोनोरेल सञ्चालन गर्ने प्रतिबद्धता दोहोर्या ए। उनले भने, 'मोनोरेल चलाउँछौं भनेकै एक वर्ष भइसक्यो, विधि मिलेपछि काम गर्ने बाटो खुल्छ, काम थालनी भएपछि रेल सञ्चालन हुन समय लाग्दैन, हामी त्यही दिशामा लक्षित छौं।'
सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पनि आफू महानगरवासीलाई सरल जीवनयापन गर्ने सुविधाको, सुन्दर उपहार दिन लागिरहेको बताए। सार्वजनिक निजी साझेदारी एकाईका प्रमुख, महेश काफ्लेले मोनोरेल निर्माण, व्यवस्थापन तथा सञ्चालन कार्यले काठमाडौंसँगै ललितपुर महानगरको समृद्धिसँग पनि उत्तिकै सम्बन्ध राख्ने बताए।
सम्झौता पत्रमा हस्ताक्षर गरिसकेपछि आफू काठमाडौंको सहरी यातायात व्यवस्थापनमा थप जिम्मेबार भएको बताउँदै कम्पनीका महाप्रबन्धक होङ्गकीले तोकेको समयमा काम सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको जनाए। सम्झौताअनुसार, पहिलो महिना अध्ययनको आधार तयार गरेर थालनी हुने सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन ६ महिनामा पेश गरिनुपर्नेछ।
महानगरले मोनोरेल सञ्चालनसम्बन्धी प्रकाशन गरेको आशय पत्रमा रेल वेले गत वैशाख २० मा महानगरमा इच्छापत्र बुझाएको थियो। यसको आधारमा महानगरको वैशाख २४ को प्रमुख स्तरीय निर्णयबाट रेलवे कम्पनीसँग सम्झौता गरको हो।
सम्झौताअनुसार रेल वे कम्पनीले चक्रपथमा मोनो रेल चलाउन आर्थिक, प्राविधिक तथा दिगोपना जस्ता पक्षमा अध्ययन गर्ने तथा प्राप्त सम्भावनाका उपयुक्त विकल्पहरू सिफारिस गर्नेछ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।