काठमाडौं- नेपाली विद्यार्थी संघको काठमाडौं शाखाले सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ।
प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडिबाट सुरु भएको विरोध जुलुस रत्नपार्क पुगेर कोणसभामा परिणत भएको थियो। महामन्त्री कुन्दनराज काफ्ले निकट रहेको काठमाडौं समितिले गरेको विरोध कार्यक्रममा महँगी नियन्त्रण, द्वन्द्वकालीन मुद्दामा थुनामा रहेका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेललाई आममाफी दिन नहुने लगायतका माग गरिएको छ।
सभामा संघका महामन्त्री काफ्ले, उपाध्यक्ष रामप्रसाद अधिकारी, नवीन राई, नेता दीपक भट्टराई, डुजाङ शेर्पा, काठमाडौं सभापति मनोज वैद्यले पार्टीको आन्तरिक लोकतन्त्रका लागि नेतृत्वलाई समेत सचेत गराएका थिए। उनीहरुले सरकारले पटकपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएकोप्रति विरोध जनाए।
वर्तमान नेकपा नेतृत्वको सरकार र पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध नै उनीहरु उत्रिएका थिए। विरोधको प्रतीक स्वरुप उनीहरुले पूरै शरीर ढाकिने कालो कपडा लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।