वासिङ्टन- बहुप्रतीक्षित ठानिएको अमेरिका-उत्तर कोरियाबीचको वार्ता रद्द भएपछि विश्वभर तरंग फैलिएको छ। अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले लागि उचित समय नभएको भन्दै वार्ता रद्द गरेका हुन्।
आगामी जुन १२ मा दुई नेताबीच सिंगापुरमा वार्ता तय भएको थियो। ट्रम्ले किमलाई पत्र लेख्दै तत्कालका लागि वार्ता भेटवार्ता हुन नसक्ने र पछि छिट्टै भेटवार्ता गर्ने उल्लेख गरेका छन्। उक्त पत्र ह्वाइटहाउसले सार्वजनिक गरेको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले एकतर्फी रुपमा वार्ता स्थगित गरेको सूचना पाएपछि उत्तर कोरिया भने दुःखी भएको बताइएको छ।
उत्तर कोरियाली नेता किमलाई सम्बोधन गरिएको पत्रमा यो स्थगनबाट विश्वमा नै दीर्घकालीन रुपमा स्थापना हुने भनिएको शान्तिको ठूलो मौका गुमेको बताइएको छ।
उक्त वार्ताको आयोजना सिंगापुरले गर्ने भनेको थियो।
उता उत्तर कोरियाले पारमाणविक अस्त्र परीक्षणगर्ने स्थलहरु नै नष्ट गरेको जनाएको छ। उसले ती अस्त्रहरु निर्माण र परीक्षण गर्ने गरिएका सुरुङहरू नष्ट गरेको केही घन्टामै ट्रम्पले वार्ता स्थगित भएको घोषणा गरेका हुन्।
राष्ट्रपति ट्रम्प र नेता किमको सम्भावित भेटपछि उत्तर कोरियाले पारमाणविक अस्त्रहरू त्याग्ने अपेक्षा गरिएको बताइएको थियो।
पत्रमा ट्रम्पले लेखेका छन्, 'तपाईँसँग सिंगापुरमा भेटवार्ता गर्न म निकै नै उत्सुक थिएँ तर दुःखको कुरा यहाँको पछिल्लो वक्तव्यका कारण हामीले धेरै पहिलादेखि योजना गरिएको भेट अहिलेका लागि हुन सकेन।'
उता हालैमात्र अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियाको अन्त्य लिबियाको जस्तो हुन पनि सक्ने भनी गरेको टिप्पणीप्रति उत्तर कोरियाले कडा आपत्ति जनाएको छ। उत्तर कोरियाली उपविदेशमन्त्री चो सुन हुइले उक्त भनाइप्रति आपत्ति जनाएको समाचार बिहीबार मात्र आएको थियो।
मूल्यांकन भएन : उत्तर कोरिया
उता उत्तर कोरियाले शान्तिका लागि निकै प्रयास गरेको, अमेरिकासँग पनि वार्ताको तयारी गरेको भए पनि यसको मूल्यांकन नभएको जनाएको छ।
उत्तर कोरियाले यसअघि पनि दक्षिण कोरियासँग गरेको बृहत् शान्ति सम्झौता बमोजिम नै आणविक अस्त्र उत्पादन तथा परीक्षणस्थल नष्ट गरेको तर यसको मूल्यांकन अमेरिकाले नगरेको बताएको छ।
उत्तर कोरियाले पछिल्लो समयमा गरेको प्रयासहरु र सदाशयतालाई अमेरिकाले भने हाम्रो कमजोरीका रुपमा लिएको उत्तर कोरियाले बताएको छ। तर पनि उत्तर कोरियाले अमेरिकासँग कुनै पनि समयमा वार्तामा बस्न तयार रहेको भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।