वासिंगटन– अमेरिकाको न्युयोर्कस्थित संघीय अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो ट्विटर अकाउन्टबाट कसैलाई पनि ‘ब्लक’ नगर्न आदेश जारी गरेको छ।
बुधबार अमेरिकी जिल्ला न्यायाधीश नाओमी रेइस बुचवाल्डको एकल इजलाशले ट्रम्पको राजनीतिक विचारसँग फरक मत राख्नसक्ने भन्दै राष्ट्रपति ट्रम्पको यस्तो कार्यले अमेरिकी संविधानमा रहेको अभिव्यक्ति स्वतन्त्रताको हकको उल्लंघन भएको ठहर गरेको हो।
कोलम्बिया विश्वविद्यालयको नाइट फस्ट एमेन्डमेन्ट इन्स्टिच्युटले राष्ट्रपति ट्रम्पविरद्ध मुद्दा दायर गरेको थियो। फैसलामा भनिएको छ,‘यो विषयमा हामीले कोही सार्वजनिक पद धारण गरेको व्यक्ति अमेरिकी संविधानमा रहेको अभिव्यक्ति स्वतन्त्रताको हकसम्म जोडिन आइपुग्छ भन्ने बुझ्नुपर्छ। राजनीतिक विचारका आधारमा आफ्नो ट्विटर ह्यान्डलमा आएको जवाफमा फरक मत राख्दै ‘ब्लक’ गर्नु अन्य व्यक्ति र अमेरिकी राष्ट्रपतिको हकमा फरक तरिकाले विश्लेषण गर्नुपर्दछ।’
‘यी दुवै तरिकाबाट विश्लेषण गर्दा अमेरिकी राष्ट्रपतिको कदम गलत ठहरिन्छ।’
अदालतको फैसलामाथि टिप्पणी गर्दै अमेरिकी न्याय विभागका प्रवक्ता केरी कुपेकले भने,‘अदालतको फैसलामा हामी सम्मानपूर्वक असहमती प्रकट गर्दछौँ। यसपछिका कदमहरुका बारेमा हामीले आफ्नो तर्फबाट सोचिरहेका छौँ।’
सन् २०१७ को जुलाईमा अमेरिकी राष्ट्रपति ट्रम्पको आधिकारिक ट्विटर ह्यान्डलबाट ७ जनालाई ब्लक गरिएको थियो। उनीहले राष्ट्रपति तथा उनका योजनाका सम्बन्धमा आलोचनात्मक टिप्पणी गरेको भन्दै ब्लक गरिएपछि त्यसको विरोधमा इन्स्टिच्युटले मुद्दा दायर गरेको थियो।
मुद्दाको विपक्षीमा राष्ट्रपति ट्रम्पका अलावा उनका सल्लाहकार एवम् ह्वाइट हाउसको सामाजिक संजाल हेर्ने निर्देशक ड्यानियल स्काभिनो, ह्वाइट हाउसका प्रेस सचिव सराह सेन्डर्स र ह्वाइट हाउसका पूर्वसञ्चार निर्देशक होप हिक्सलाई बनाइएको थियो।
ब्लकमा पर्ने ट्विटर प्रयोगकर्ताहरुले सो समयपछि अमेरिकी राष्ट्रपतिको ट्विट देख्न असमर्थ भएको जसमा अमेरिकाको नीति तथा प्रस्ताव र मन्त्री परिषदले गरेका नियुक्ति तथा अन्य निर्णयहरु पनि समावेश भएको मुद्दामा उल्लेख गरिएको थियो। ब्लकमा पर्ने व्यक्तिहरुले त्यसपछि राष्ट्रपतिका अभिव्यक्ति र निर्णहरुलाई तेस्रो प्रयोगकर्ताको सहयोगमा हेर्ने गरेको समेत बताइएको छ।
अदालतको फैसलामा यस्तो सीमाले अभिव्यक्ति स्वतन्त्रतामा चोट पुग्ने पनि उल्लेख गरिएको छ।
सो फैसलापछि अब अमेरिकी राष्ट्रपति कार्यालयले कस्तो कदम चाल्नेछ, सोको बारेमा भने केही पनि बताइएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।