डडेलधुरा– डडेलधुरामा पछिल्लो समय चोरीका घटनामा वृद्धि हुँदै गएको छ। केहीदिन अगाडिदेखि अज्ञात समूहद्घारा सदरमुकामभित्रै मोटरसाइकल र स्कुटरबाट पेट्रोल चोरी तथा तोडफोड गर्ने घटना बढिरहेको स्थानीयहरुले गुनासो गरेका हुन्।
सदरमुकामस्थित क्रितिपुर बजारमा ५ मोटरसाइकलमा तोडफोड र पेट्रोल चोरी भएको हप्तादिन नबित्दै अमरगढी–५, विद्युतरोडमा ३ वटा मोटरसाइकलबाट १५–२० लिटर पेट्रोल चोरी हुनुका साथै तोडफोडसमेत भएको छ। गएराति अमरगढी–४, तल्लो खलंगामा पनि ३ वटा मोटरसाइकल र एउटा स्कुटरबाट पेट्रोल चोरी भएको र तोडफोड गरिएको छ।
रातिको समयमा हुने यस्ता घटनाले स्थानीय बासिन्दा त्रसित बनेका छन्। यस्ता घटनाले थप चोरी र लुटपाट हुनसक्ने भन्दै स्थानीयले सुरक्षाको प्रत्याभुतिका लागि जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन्।
सुरक्षा व्यवस्थामा कडाइ नहुनु, रातिको समयमा आवश्यक गस्ती टोली परिचालन नहुनुले अझै खतरा बढ्नसक्ने भन्दै सुरक्षा प्रवन्ध मिलाउन र चोरीमा संलग्न रहेका व्यक्तिको खोजिगरी कारवाहीका लागि पीडितहरुले प्रशासन कार्यालयमा बिहीबार निवेदनसमेत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।