राजविराज– संघीय 8वादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसलाई बेवास्ता गरेर मुलुक अघि बढ्न नसक्ने चेतावनी दिएका छन्।
बिहीबार सप्तरीको राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले तराई मधेसमा बढ्दो चुरे विनाश र बाढीको खतराप्रति संघीय सरकारले ध्यान नदिएको गुनासो गरे। ‘तराई मधेसको विकासका लागि संघीय सरकार नै संवेदनशील हुनु जरुरी छ,' उनले भने, 'तराई मधेस मरुभूमि भए देशले नै ठूलो मूल्य चुकाउनुपर्नेछ।’
मधेसमा चुरे विनाशले मरुभूमिकरणको खतरा बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै नेता यादवले बाढी नियन्त्रण गर्ने मामिलामा समेत सरकार गम्भीर नहुँदा नागरिकको जिउधनको खतरामा परेको बताए।
मधेसी जनतालाई अवसर र पहुँचमा अझै पनि बराबरीको अधिकार प्राप्त नभएको भन्दै उनले संविधान संशोधन गरी त्यसलाई सच्याउन आवश्यक रहेको बताए। ‘मधेस लगायत हिमाल पहाडमा पनि आदिवासी जनजाति, महिला, मुस्लिम, दलितप्रति संविधानमा विभेद कायम नै छ,’ उनले भने, ‘यसलाई नसच्याए तिनै क्षेत्रमा आन्दोलनले विकराल रुप लिनेछ।’
मुलुक भ्रष्टाचार र माफियातन्त्रमा फसेकाले राजनीतिक व्यवस्था नसुध्रिएसम्म जनताले विकासको अनुभूति गर्न नपाउने उनको दाबी छ । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट टनका टन सुन आउँछ र जान्छ भन्दै गृहमन्त्री आफै भन्दैछन्,’ उनले थपे, ‘देश भ्रष्टाचारमा डुबेको छ भन्नका लागि यति नै काफी छ, यसलाई सधार गर्नुपर्यो नि।’ ठूला नेता र प्रशासक नै भ्रष्टाचारमा लिप्त भएकाले देशले उन्नति गर्न नसकेको उनले ठोकुवा गरे।
यस्तै पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा आयोजित नागरिक अभिनन्दन समारोहमा मुख्यमन्त्री लालबाबु राउतले बोलेको कुरालाई विवादका तानिएको भन्दै केन्द्र सरकारले मधेसीको अस्तित्व अझै पनि स्विकार्न नसकेको टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।