काठमाडौं- धरान उपमहानगरपालिकाका ५ वटा वडाका किसानले कृषि कर्जा पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले अब धरान उपमहानगरपालिका अन्तर्गतका वडा नम्बर ४, ५, ६, १७ र २० नम्बर वडाका किसानले अनुदानमा कृषि कर्जा पाउने जनाएको छ।
यसअघि यो क्षेत्रलाई ग्रामीण क्षेत्र अन्तर्गत नपारिएकाले अनुदानमा कृषि कर्जा नपाएको राष्ट्र बैंकले जनाएको छ। तर, केन्द्रीय समन्वय समितिको जेठ ६ गते बसेको बैठकले धरान उपमहानगरपालिकाका ५ वटा वडालाई समेत ग्रामीण क्षेत्रमा वर्गीकरण गरेपछि उनीहरुले यो सुविधा पाउने भएका हुन्।
राष्ट्र बैंकले ती वडाका किसानलाई अनुदानमा कर्जा दिन बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ। उनीहरुलाई कृषि कर्जाको अनुदानकै लागि ग्रामीण क्षेत्रमा वर्गीकरण गरिएको राष्ट्र बैंकले जनाएको छ।
व्यावसायिक कृषि तथा पशुपंक्षी कर्जामा प्रदान गरिने ब्याज अनुदान सम्बन्धी कार्यविधि २०७३ ले अनुदानमा अधारित कृषि कर्जा ग्रामीण क्षेत्रमा मात्र प्रदान गर्ने व्यवस्था गरेको थियो। उक्त कार्यविधि अनुसार ग्रामीण क्षेत्र भन्नाले गाउँपालिका र नगरपालिकालाई बुझाउने उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।