काठमाडौं- नेपाल इन्भेष्टमेन्ट बैंक र विश्व बैंक समूह अन्तर्गतको इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी)बीच कर्जा सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र आइएफसीका तर्फबाट आवासीय प्रतिनिधि एम रेहान रसिदले हस्ताक्षर गरेका हुन्। यो सम्झौतासँगै इन्भेष्टमेन्ट बैंकले आइएफसीसँग कर्जा लिन पाउने भएको छ।
अन्तर्राष्ट्रिय कम्पनीसँग कर्जा लिन नेपाल राष्ट्र बैंकको अनुमति लिनुपर्ने प्रावधान छ।
सम्झौतापछि देशमा अहिले देखिएको आर्थिक तरलता केही हदसम्म कम हुने अपेक्षा गरिएको बैंकले जनाएको छ। बैंकले आइएफसीबाट प्राप्त कर्जालाई राष्ट्र बैंकले तोके अनुसारको क्षेत्रमा उपलब्ध गराउनेछ।
यसअघि नेपाल इन्भेष्टमेन्ट बैंक र आइएफसीबीच व्यापार तथा वित्त क्षेत्रमा मिलेर काम गर्ने सम्झौता भइसकेको छ। व्यापार तथा वित्त क्षेत्रमा ५० लाख अमेरिकी डलरसम्मको लगानी गर्ने दुवै पक्षको सहमति छ। प्राप्त रकम नेपाली साना तथा मझौला व्यवसायलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्न प्रयोग गरिने बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।