सुर्खेत– कर्णाली प्रिमियर लिग (केपिएल)को सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागेको छ।
समूह ‘ए’बाट रुपन्देही–११ विजेता र त्रिभुवन आर्मी क्लब समूह उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका छन्। यस्तै, समूह ‘बी’बाट धनगढी क्रिकेट एकेडेमी विजेता र मध्यपश्चिम क्रिकेट क्लब उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका हुन्।
रुपन्देही, धनगढी र मध्यपश्चिम यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका थिए भने आर्मीले बिहीबार भेरीगंगा क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो।
टस जितेर ब्याटिङ गरेको भेरीगंगाले १२ ओभरमा घटाइएको खेलमा ४ विकेट गुमाएर ६३ रन मात्र बनाउन सक्यो। उसका लागि तिलक थापाले सर्वाधिक २०, सौगात कार्कीले १८ तथा पदम कँडेलले १३ रनको योगदान गरे।
बलिङतर्फ आर्मीका बलर जितेन्द्र मुखिया, चन्द्र साउद, सागर पुन र साहब आलमले समान १/१ विकेट हात पारे।
६४ रनको सामान्य लक्ष्य आर्मीले ७.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। आर्मीको लागि सागर पुन र इन्द्रकमल मानन्धरले समान १७ तथा राजु रिजाल र भीम सार्कीले समान १२ रन बनाए। भेरीगंगाका बलर जनादेश चुनाराले २ विकेट लिए।
सुर्खेतको वीरेन्द्रनगरमा जारी लिगको सेमिफाइनलमा शुक्रबार समूह ‘ए’ को विजेता रुपन्देही–११ र समूह ‘बी’ को उपविजेता मध्यपश्चिम तथा समूह ‘बी’को विजेता धनगढी क्रिकेट क्लब र समूह ‘ए’को उपविजेता आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेलका विजेता फाइनल प्रवेश गर्नेछन्।
बन्धुविकास बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले तीन लाख नगद र उपविजेताले एक लाख ५० हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।