काठमाडौं– प्रतिनिधिसभापछि राष्ट्रियसभामा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ।
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि सो सम्बन्धमा छलफल सुरु गरिएको हो।
छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुले नीति तथा कार्यक्रमको आलोचना गरेका छन् भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुले बचाउ गरेका छन्। सत्तारुढ दलका सांसद दीनानाथ शर्माले सरकारको नीति तथा कार्यक्रम मुलुकलाई समृद्ध बनाउने लक्ष्य हासिल गर्नेगरी आएको भन्दै विरोध गर्न आवश्यक नरहेको दाबी गरेका छन्। उनले सरकारको नीति तथा कार्यक्रम राष्ट्रियताको पक्षमा रहेको र यसले विकास निर्माणको कामलाई पनि गति दिने विश्वास व्यक्त गरे।
यता, कांग्रेसका सांसदहरुले भने नीति तथा कार्यक्रम राष्ट्रिय लक्ष्य अनुसार नआएको भन्दै आलोचना गरेका छन। कांग्रेस सांसद सुरेन्द्र भण्डारीले सरकारले महत्वकांक्षी नीति लिएको तर त्यसलाई पूरा गर्ने कार्यक्रम नल्याएको भन्दै आलोचना गरे।
यसैगरी कांग्रेस सांसद राधेश्याम अधिकारीले पनि स्थानीय तहलाई बलियो बनाउनेगरी सरकारले नीति तथा कार्यक्रम नल्याएको भन्दै असन्तुष्टि व्यक्त गरे।
राष्ट्रपति विद्या भण्डारीले गत जेठ ७ गते संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। संवैधानिक व्यवस्था अनुसार सरकारले आगामी जेठ १५ गते बजेट ल्याउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।