काठमाडौं– सन् २००७ को मिस नेपाल बन्न आतुर थिइन् अभिनेत्री ऋचा शर्मा। तर क्राउन पहिरिन हतारिएका पाइलाहरु रोकिए। उनले उत्कृष्ट दसमा चित्त बुझाउनुपर्यो।
ऋचाको मिस नेपाल बन्ने सपना त टुंगियो तर चलनचल्तीको दैनिकीभन्दा फरक पहिचानसहितको जीवन जिउने साहस भने उनमा ताजै थियो। मिस नेपालको यात्रामा सिकेको सिप र आत्मविश्वासले उनलाई थप ऊर्जा दिइरहेको थियो।
आफूमा भएको क्षमतामाथि उनलाई विश्वास थियो। त्यही विश्वासको जगमा उनले विभिन्न टेलिभिजनमा भिजे, मोडलिङ हुँदै टेलिचलचित्रमा हात हालिन्। मोडलिङमा सुरुवाती अवस्थामै पाएको सफलताका कारण उनीमाथि केही गनिएका म्युजिक डाइरेक्टरहरुको नजर पर्न गयो। म्युजिक भिडियोमा एकएक गर्दै काम पाउन थालिन्। यसले मोडलिङमा उनको आगामी बाटो फराकिलो बन्दै गएको दृश्यबोध गराउँथ्यो। जसलाई नेपाली चलचित्रसम्म पुग्न जगको रुपमा हेरिँदै आएको छ।
म्युजिक भिडियोको यात्रासँगै पहिलोपटक फिल्म ‘फस्ट लभ’बाट ऋचा नेपाली फिल्म क्षेत्रमा प्रवेश गरिन्। प्रमुख भूमिकामा देखिएकी ऋचाले पहिलो फिल्मबाटै उत्कृष्ट अभिनेत्रीको रुपमा स्थान बनाउन सफल भइन्।
सन् २००७ देखिको ११ वर्षे करिअरमा ऋचाका १ सय ५० बढी म्युजिक भिडियो, १७ बढी फिल्म तथा विभिन्न सर्ट मुभी र टेलिचलचित्र सार्वजनिक भइसकेका छन्। संख्यात्मक हिसाबले चलचित्रको संख्या अन्य नाम चलेका अभिनेत्रीहरुको भन्दा कम लागे पनि अभिनयको यात्रामा ऋचाको पहिचान दर्शकको आँखामा बेग्लैगरी बसेको पाइन्छ।
फरक फिल्ममा फरक पात्रको रुपमा पर्दामा देखिन रुचाउने ऋचाको स्वभाव नै त्यस्तै रहेछ। ‘हामी रियल लाइफमा त्यती भाग्यमानी छैनौँ, जति रिल लाइफमा छौँं। किनभने रिल लाइफमा हामीले धेरै तर फरक–फरक जीवनको अनुभव गर्न पाएका हुन्छौँ,' ऋचाले भनिन्, ‘अर्कातिर एउटी अभिनेत्रीको अभिनय यात्रा पनि छोटो हुन्छ र यो छोटो यात्रामा धेरैभन्दा धेरै भेराइटिका काम गरौँ भन्ने मेरो लक्ष्य हो।’ उनको बुझाइमा आफ्नो छोटो अभिनय यात्रालाई सार्थक र जीवन्त बनाइराख्न जस्तोसुकै नौलो अभ्यास गर्न पनि तयार रहनुपर्छ।
अभिनेत्री ऋचा केही समययता अभिनयसँगै फिल्म निर्माणमा समेत आफूलाई स्थापित गराउन प्रयासरत छिन्। फिल्म भिसा गर्ल, आधा लभ निर्माणबाट मिश्रित अनुभव सँगालेकी ऋचाले यसपटक ‘सुनकेसरी’ निर्माण गरी दर्शकमाझ आउँदै छिन्।
फिल्म जेठ ११ बाट नेपाल र अस्ट्रेलियामा सबटाइटलसहित एकसाथ प्रदर्शनमा आउँदै छ। विधागत रुपमा हरर (भूतको कथामा बनेको) फिल्म भनिएको ‘सुनकेसरी’ले नेपाली दर्शकका लागि केही स्वाद दिनेमा भने आश गर्न सकिन्छ। तर यही शैलीमा नेपालमा यसअघि पनि फिल्म नबनेका भने होइनन्। सामान्यतया अर्गानिक सामाजिक कथावस्तु, हास्यप्रधान तथा माया–प्रेमका कथामा रमाइरहेका नेपाली दर्शकका लागि ‘हरर’ फिल्मले त्यति छोएको पाइन्न। ‘सुनकेसरी’अघि बनेका फिल्महरु एक दिन एक रात, मसान, आत्मा, डार्क हाउस, माला, हँसिया, पर्व जस्ता ‘हरर’ फिल्मले नेपाली बक्स अफिसमा लामो तथा फराकिलो यात्रा गर्न पाएनन्।
नेपालमा ‘हरर’ फिल्मको इतिहास र चर्चा निकै साँघुरो रुपमा मात्रै भएकोले अर्पण थापा र ऋचा शर्माको ‘सुनकेसरी’का लागि त्यो चिर्ने अवसर भने यसपटक पूरापूर रहेको देखिन्छ।
यस विषयमा ऋचा भने ढुक्क छिन्। विश्व सिने इतिहासको उदाहरण दिँदै ऋचा भन्छिन्, ‘विश्वका स्थापित फिल्म उद्योगहरुको अध्ययन गर्ने हो भने ‘हरर जनरा’का फिल्मबाट नै उनीहरुले स्थायित्व पाएका छन् भने नेपाल यसबाट किन चुक्ने? त्यसकारण मैले नेपाली सिनेमा क्षेत्रभित्र फरक बाटोमा हिँड्न चाहेको हुँ।’
ऋचाले आफ्नो कामप्रतिको आत्मविश्वास झल्काउँदै थपिन्, ‘सफल नहुने भन्ने कुरै हुँदैन। किनकी ‘सुनकेसरी’का लागि आजसम्म जेजति गरेँ, ती सबैबाट सन्तुष्ट छु। अब सम्पूर्ण जिम्मेवारी दर्शकमाझ छोडिसकेँ, जे हुन्छ फिल्म प्रदर्शनपछि थाहा हुन्छ।’
ऋचा र अर्पणले करिब २ करोड रुपैयाँ लगानी गरेर फिल्म ‘सुनकेसरी’ तयार गरेका हुन्। फिल्ममा ऋचासहित रवीन्द्र झा र सनी ढकाल तथा अस्ट्रेलियन कलाकारहरुलाई देख्न सकिन्छ। अस्ट्रेलियाको सिड्नीस्थित भुताहा घरमा छायांकन गरिएको फिल्ममा ऋचाले साहसका साथ खतरा मोलेको स्वीकार गरिन्।
समय–समयमा चर्चामा आइरहने ऋचालाई घमण्डी अभिनेत्रीको ट्याग लाग्ने गरेकोमा कुनै दुःखेसो छैन। बरु उनले यसमा गर्व गर्दै भनिन्, ‘महिला घमण्डी हुनैपर्छ। ममा सुन्दरताको घमण्ड छैन तर म आफ्नो आत्मविश्वासको घमण्ड गर्छु र सबैलाई आत्मविश्वासको घमण्ड गर्न सुझाउँछु पनि।’
वास्तविक जीवनका घटनामा आधारित रहेर फिल्म बनाउन आफू सदैव तयार रहेको बताउँछिन् ऋचा। केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले फिल्मकर्मीहरुलाई भूत, प्रेत र अन्धविश्वासयुक्त फिल्म नबनाउन सुझाएका थिए। तर उक्त कार्यक्रममा ऋचा भने अनुपस्थित थिइन्।
प्रधानमन्त्रीले यस्तो सुझाव दिइरहँदा यसको ठिकविपरीत ऋचाको फिल्म ‘सुनकेसरी’को भने पोस्ट प्रोडक्सनको अधिकांश कार्य सकिएको थियो। तर उक्त सुझावका सम्बन्धमा प्रधानमन्त्रीको विचारसँग सहमत छैनन् उनी। ‘सायद उहाँले त्यस्ता फिल्म बनाउन रोक्नुभन्दा पनि विदेशबाट आउने त्यस प्रकारका फिल्म रोक्नुपर्दछ’, उनी भन्छिन्, ‘फिल्म निर्माण 8भन्दा पृथक् हुन सक्दैन। मैले पनि ‘सुनकेसरी’ 8भन्दा पर रहेर निर्माण गरेकी छैन। फिल्म 8 भित्रको यथार्थ प्रतिविम्ब हो। फिल्मको कथावस्तु विस्तार गर्दै जाँदा केही कुराहरु काल्पनीक हुनु स्वाभाविक पनि लाग्छ।’
अभिनय र फिल्म निर्माणपछि फिल्मको स्क्रिप्ट लेखनमा समेत आफ्नो उपस्थितिको संकेत गर्दै ऋचाले आफ्नो चाहना अनुरुपको भूमिका निर्वाह गर्ने अवसर अझैसम्म नजुरेको बताइन्। आफूले चाहेजस्तो भूमिकामा दर्शकमाझ उपस्थिति जनाउनकै लागि भए पनि लेखनमा आउने चाहना छ उनको।
कलायात्रामा पृथक् प्रस्तुतिका लागि अभिनयको भोक अझै पनि नवकलाकारमा जस्तै रहेको बताउने ऋचाको ‘सुनकेसरी’ यात्राले कहाँसम्मको दुरी पार गर्ने हो, समयले बताऊला!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।