राजविराज– सप्तरीको विष्णुपुर गाउँपालिकास्थित राजविराज विमानस्थलबाट आज हवाई सेवाको उद्घाटन गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आज उक्त विमानस्थलबाट उडान सेवाको उद्घाटन गरे।
२०१६ सालमा तत्कालीन यातायातमन्त्री गणेशमान सिंहले उद्घाटन गरेको विमानस्थल कच्ची धावन मार्गका कारण पटकपटक सञ्चालन तथा बन्द हुँदै आएको थियो। एक महिनाअघि विमानस्थलमा १ हजार ५ सय मिटर लामो र ३० मिटर चौडाइ पक्की धावनमार्ग निर्माण गरिएको थियो।
श्री एयरलाईन्सको ५० सिटे विमानबाट बिहान १०:५४ मा राजविराज विमानस्थलमा उत्रेका मन्त्री अधिकारीले मुनाफा आर्जन गर्नेभन्दा पनि सुविधा प्रदान गर्ने हिसाबले विमान सेवा सञ्चालन गर्न सँगै आएका श्री एयरलाइन्सका प्रबन्धन निर्देशक सुधीर मित्तललाई आग्रह गरे। उनले भने, ‘तपाईं नियमित रुपमा सेवा प्रदान गर्नोस्, सरकारले प्रोत्साहन गर्नेछ।’
भारतका सहरहरुसँग सडकमार्गवाट सम्पर्क स्थापित गरी राजविराज विमानस्थलवाट सेवा नियमित गर्नका लागि पनि सरकारले काम गर्ने प्रतिबद्धता पनि मन्त्री अधिकारीले व्यक्त गरे। ‘नेपालको पशुपतिनाथ दर्शनका लागि भारतीय तीर्थयात्री आवागमनमा यो विमानस्थल निकै सहयोगी हुनेछ,’ उनले भने, ‘सरकारले यसका लागि पनि ध्यान पुर्याउनेछ।’ उनले यात्रुको संख्या पर्याप्त नभए कार्गो हबका रुपमा भए पनि विमान सेवा नियमित गरेरै छाड्ने बताए। नयाँ विमानस्थल निर्माणभन्दा पनि अवरुद्ध भएका पुरानालाई सञ्चालनमा ल्याउने सरकारको प्राथमिकता भएको उनको भनाइ थियो।
मन्त्री अधिकारी, संघीय 8वादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र नारायण देवले संयुक्त रुपमा विमान सेवा सञ्चालनको उद्घाटन गरेका थिए।
कच्ची धावन मार्गका कारण २०५२ बैसाखदेखि अवरुद्ध विमानस्थलमा आगामी असार १ गतेदेखि श्री एयरलाइन्सले नियमित उडान गर्ने प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।