काठमाडौैं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट ठूलो संख्यामा कर्मचारी हेरफेर भए पनि बदमासी रोकिएको छैन। तीन श्रीलंकन नागरिक मलेसियाको पासपोर्ट लिएर नेपालको विमानस्थलबाट उडेको खुलेको छ।
कतारस्थित अध्यागमनले उनीहरुलाई नेपालमा फर्काइदिएपछि सो तथ्य खुलेको हो। त्यसरी फर्काइएकाहरुमा देसानी पेथिमुथु, मुगुन्टान गानासान, नागेश्वरी अरुमासान रहेका छन्। उनीहरु हाल अध्यागमन विभागको हिरासतमा छन्। उनीहरुको पासपोर्ट तथा भिसा अवैध भएको भन्दै कतारले बुधबार नेपाल फर्काइदिएको हो।
उनीहरुले प्रयोग गरेको पासपोर्ट नै नक्कली भएको आशंका गरिएको छ।
कतारले ‘डिपोर्ट’ गरेका तीन जनालाई पक्राउ गरी अध्यागमन विभाग पठाइएको अध्यागमन कार्यालय विमानस्थलका प्रमुख होमनाथ थपलियाले बताए।
यो पनि— अध्यागमन ‘अपरेसन’ : एउटाको राहदानीमा अर्को उड्दै
पक्राउ परेकाहरु १० दिनअघि मलेसियाबाट नेपाल आएका थिए। नेपालबाट अस्ट्रिया जाने क्रममा कतारबाट फर्काइएका हुन्। नेपालको अध्यागमनमा सेटिङ मिलाउन सजिलो हुने भएकाले नेपाललाई ट्रान्जिट बनाएर अस्ट्रिया जाने प्रयास गरेको आशंका गरिएको छ।
अध्यागमन कार्यालयका कर्मचारीले थाहा नपाएर वा सेटिङमा उनीहरुलाई नक्कली पासपोर्टमा विदेश उड्न अनुमति दिए भन्नेमा अनुसन्धान भइरहेको विभागका अधिकारी बताउँछन्।
नेपालको अध्यागमनबाट पटकपटक नक्कली पासपोर्टमा विदेशीहरु सजिलै उड्ने गरेका छन्। अध्यागमनमा हुने सेटिङ यसको प्रमुख कारण हो। कतिपय अवस्थामा नक्कली पासपोर्ट नै नचिन्ने अनुभवहीन कर्मचारी र कमजोर प्रविधिका कारण पनि यस्तो हुने गरेको छ।
पटक-पटकको बदमासीपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा गत महिना अध्यागमन कार्यालयबाट करिब ३० जना कर्मचारीलाई एकैपटक हटाइएको थियो। तर, पनि विमानस्थलमा हुने सेटिङ र बदमासी रोकिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।