सुर्खेत– उनी चार वर्षका थिए, खुट्टा मड्कियो। मड्केको खुट्टाको उपचारका लागि उनलाई अस्पताल पुर्याइएन, बाँसको काप्रा लगाइयो। घाउ भित्रभित्रै पाक्न र सड्न थाल्यो। अन्ततः उनले सधैंका लागि एउटा खुट्टा गुमाउनुपर्ने अवस्था आयो।
लम्कीचुहा नगरपालिका–१ कैलालीका यमलाल रसाइलीले ४ वर्षको उमेरमा दायाँ खुट्टा गुमाए। उनी अहिले ४० वर्षका भए। एउटा खुट्टाको सहारामा उनी यतिबेला तराईको कैलालीदेखि हिमाली जिल्ला मुगुको रारासम्मको यात्रामा निस्किएका छन्, त्यो पनि साइकलमा। झट्ट सुन्दा अचम्म लाग्न सक्छ, तर आँट र साहसले चुनौतीहरुलाई जित्दै अघि बढेका रसाइली यही कठिन कार्य पूरा गर्न लागिरहेका छन्।
उनले विगत २१ वर्षदेखि साइकल चलाउँदै आएका छन्। एउटा खुट्टाले साइकल चलाउनु उनका लागि सामान्यजस्तै बनिसकेको छ। एकपटक उनी सार्वजनिक गाडी चढेका थिए। गाडी चढिकसेपछि पनि उनलाई धकेलेर निकालियो। यमलाललाई लाग्यो, कि म कमजोर रहेछु। त्यसपछि उनमा आफ्नो खुट्टामा आफैं उभिनुपर्छ भन्ने भावना जाग्यो। त्यसको सुरुवात उनले साइकलबाट गरे। अहिले उनी साइकल चढेरै दर्जनौं जिल्ला घुमिसकेका छन्, थुप्रै साइकल दौड प्रतियोगितामा समेत भाग लिइसकेका छन्।
‘अपांगको चाहना स्थायी शान्तिको कामना’ नारा राखेर उनले पहिलो पटक २०५९÷०६० मा महाकाली–मेची साइकल यात्रा गरे। ३१ जिल्ला घुमे। ३ हजार ३ सय किलोमिटर साइकल चलाए।
यसबाट उनले अपांगता भएकाहरु पनि कोहीभन्दा कम हुँदैनन्, अपांगता भएकाहरुले पनि काम गर्न सक्छन् भन्ने सन्देश दिए। त्यसयता उनले यस्ता थुप्रै साइककल यात्रा गरे र विभिन्न प्रतिस्पर्धामा भाग लिए।
रारा यात्रा किन?
कर्णाली प्रदेश सरकारले घोषणा गरेको कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन गर्न गत वैशाख १ मा मुगु पुगेका प्रधामन्त्री केपी शर्मा ओलीले सोही दिन विद्यालय भर्ना अभियानको सुरुवात गर्दै एक बालिकाको अभिभावकत्व ग्रहण गरे। सो कार्यक्रममा एक जना अपांगता भएका बालक पुन्नबहादुर कुलाललाई विद्यालय भर्ना नगरेको खबर रसाइलीको कानसम्म पुग्यो।
त्यसपछि बन्यो, रारा यात्राको योजना। उनी एकातर्फ कर्णाली–रारा पर्यटन वर्ष सफल बनाउनकाका लागि रारा यात्रा गर्दैछन् भने अर्कोतर्फ विद्यालय भर्ना हुन छुटेका बालक पुन्नबहादुरलाई विद्यालय भर्ना गराउन जाँदैछन्।
सहयोग जुटाएर पुन्नबहादुरलाई विद्यालय भर्ना गराउनु साइकल यात्राको मुख्य उद्देश्य रहेको रसाइलीले बताए। यसका साथै अपांगता भएका व्यक्तिहरुले पनि साथ र सहयोग पाए केही गर्न सक्छन् भन्ने सन्देश साइकल यात्राबाट रसाइलीले दिन खोजेका छन्।
साइकलबाटै उनले अहिलेसम्म नेपालका ३८ जिल्लाको यात्रा गरिसकेका छन्। एक दिनमा दुई सय किलोमिटरसम्मको यात्रा गरेको रसाइलीले बताए। रसाइलीको रारा यात्रा बुधबारदेखि सुरु भएको छ। अघिल्लो दिन कैलालीबाट सुर्खेत आइपुगेका उनी बुधबार राराका लागि हिँडेका हुन्।
खुट्टा गुमाएपछि लामो समयसम्म उनी घरभित्रै सीमित रहे। उमेर बढ्दै जाँदा उनी आफ्नो जीवन, भविष्य र परिवारबारे सोच्थे। बचपनमै एउटा खुट्टा गुमाए पनि उनले साहस भने गुमाएनन्।
आम्दानीका लागि सिलाइ–कटाइको काम गर्छन्, सँगसँगै सोही सम्बन्धी तालिम पनि दिन्छन्। अपांगता भएकाहरुले केही गर्न सक्दैनन् भन्नेहरुका लागि यमलाल गतिलो जवाफ बनेका छन्। अपांगता भएर बसिरहेकाहरुका लागि आँट, साहस र उत्प्रेरणाको स्रोत पनि हुन्, रसाइली।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।