वासिंगटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिल माइकल कोहेनले गोप्य रुपमा कम्तिमा ४ लाख अमेरिकी डलर लिएको खुलासा भएको छ। युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्को र राष्ट्रपति ट्रम्पबीचमा भेटवार्ता निश्चित गरिदिए बापत उनलाई सो रकम प्राप्त भएको हो।
विशेष स्रोतका अनुसार युक्रेनका राष्ट्रपतिका तर्फबाट मध्यस्तकर्ता रहेका एक व्यक्तिले कोहेनलाई सो रकम उपलब्ध गराएका बिबिसीले लेखेको छ। अमेरिकी कानुनका अनुसार कोहेन युक्रेनसँग वार्ता तय गर्ने आधिकारिक व्यक्ति थिएनन्।
उता कोहेनले भने सो आरोपको खण्डन गरेका छन्।
दुई प्रमुखबीचको भेटवार्ता गत जुनमा ह्वाइटहाउसमा भएको थियो। राष्ट्रपति पोरोसेन्को युक्रेन फर्किएको केही समयमै त्यहाँको भ्रष्टाचार विरोधी एजेन्सीले ट्रम्पका पूर्व अभियान प्रबन्धकमाथि चलिरहेको अनुसन्धानसमेत रोकेको थियो।
ट्रम्पका निजी वकिल माइकल कोहेन
युक्रेनका एक उच्च गुप्तचर अधिकारीले राष्ट्रपति पोरोसेन्कोले ह्वाइट हाउसको भ्रमण गर्नुअघि भएका सबै तथ्यहरुको बारेमा खुलासा गरेपछि साे तथ्य बहिर अाएकाे हाे। ‘राष्ट्रपति पोरोसेन्को अमेरिकी राष्ट्रपति ट्रम्पसँग ‘ब्याक च्यानल’ स्थापित गर्न चाहन्थे। सोका लागि एक पूर्व सहयोगीलाई जिम्मेवारी दिइएको थियो र यसबारेमा उनले राष्ट्रपतिका बफादार मानिने एक सांसदसँग सल्लाह गरेका थिए।’, गुप्तचर अधिकारीले भने।
ती अधिकारीका अनुसार त्यसपछि ती सहयोगीले अमेरिकामा व्यक्तिगत सम्बन्ध विस्तार गर्दै लगेको र न्युयोर्क तथा पोर्ट वासिंगटनस्थित केही च्यारिटी कार्यक्रममा समेत भाग लिएका थिए।
यही सिलसिलामा उनले ट्रम्पका वकिल माइकल कोहेनसँग भेट गरेको र ४ लाख अमेरिकी डलर भुक्तान गरेको गुप्तचर अधिकारीले बताएका छन्। तर राष्ट्रपति ट्रम्पलाई सो भुक्तानीको सम्बन्धमा जानकारी भए/नभएको भन्ने बारेमा भने उनले केही पनि उल्लेख गरेका छैनन्।
यता युक्रेनको राजधानी किभमा रहेका दोस्रो स्रोतका अनुसार कोहेनलाई थप रकम पनि उपलब्ध गराइएको बिबिसीले लेखेको छ। कोहेनले कुल ६ लाख डलर लिएको दावी गरिएको छ।
यस सम्बन्धमा राष्ट्रपति ट्रम्पबाट भने हालसम्म कुनै पनि प्रतिक्रिया आइसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।