बेँसीशहर– लमजुङमा अलैँचीका बिरुवाको मूल्य निर्धारण गरिएको छ। नेपाल अलैँची व्यवसायी महासंघ, लमजुङ शाखाले अलैँची बिरुवाको मूल्य निर्धारण गरेको हो।
जिल्लाभर अलैँची बिरुवाको मूल्यमा एकरुपता कायम गर्न महासंघ जिल्ला शाखाको बुधबार बसेको बैठकले बिरुवाको मूल्य निर्धारण गरेको हो। महासंघले प्रतिबिरुवा ५ देखि ८ रुपैयाँसम्म निर्धारण गरेको शाखा अध्यक्ष अजय तामाङले जानकारी दिए।
महासंघ शाखाले पुरानो बोटबाट निकालेको बिरुवाको मूल्य ५ रुपैयाँ कायम गरेको छ भने नर्सरीमा ३२ महिना कटेको बिरुवाको मूल्य प्रतिगोटा ८ रुपैयाँ कायम गरेको जनाएको छ।
जिल्लामा अहिले १५ लाख रुपैयाँ बराबरका अलैँचीका बिरुवाको माग भएको र २० लाख रुपैयाँको भन्दा बढी बिरुवा उत्पादन भएको महासंघले जनाएको छ। गतवर्ष प्रतिबिरुवा ९ रुपैयाँ निर्धारण गरिएको भएपनि यस वर्ष अलैँचीको मूल्य र बिरुवाको माग पनि घटेका कारण बिरुवाको मूल्य घटाइएको महासंघले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।