रुपन्देही– रुपन्देहीको सैनामैना नगरपालिकामा निजी क्षेत्रसँग सम्झौता गरेर विभिन्न प्रकारका फोहरमैलाको व्यवस्थापन हुन थालेको छ।
वातावरणीय सुन्दर नेपाल प्रालि, बुटवलसँग भएको सम्झौताअनुसार सड्ने फोहरमैला सातामा दुई पटक र नसड्ने फोहरमैला १० दिनमा एकपटक उठाइने सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर केसीले जानकारी दिए।
फोहरमैला व्यवस्थापनका लागि नगरपालिका क्षेत्रका मुख्य बजार मुर्गिया, सालझण्डी र कलौनीमा पहिलो चरणमा नै सरसफाइ गरिने र त्यसलाई अन्य विभिन्न ठाउँमा पनि निरन्तरता दिइने बताइएको छ।
सैनामैना नगरपालिकाका प्रमुख केसीले फोहरमैला व्यवस्थापनका लागि ३० देखि १हजार ५ रुपैयाँसम्म शुल्क लिएर २० लिटरको डस्टबिन प्रयोगमा ल्याउने जानकारी दिँदै फोहर व्यवस्थापन गर्न निजी क्षेत्रलाई २ लाख ७५ हजार रुपैयाँ दिने सहमति भएको बताए।
नगरका विभिन्न टोल विकास संस्थालाई तत्काल २ हजार ५ सय डष्टबिन अनुदानमा वितरण हुने र थप २ हजार ५ सय पुनः वितरण हुने जनाइएको छ। ‘नगरको सौन्दर्य सभ्यताको सूचक हो। त्यसैले यसलाई सबैले आत्मसात गर्नुपर्छ।’, उनले भने।
नगरप्रमुख केसीले प्लाष्टिकजन्य फोहर जलाउनसमेत उपभोक्तालाई रोक लगाइएको उल्लेख गर्दै कसैले अटेर गरे जरिवाना गरिने बताए। सैनामैना नगरपालिकामा एक सातामा १५ क्विन्टल फोहरमैला संकलन हुन्छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।