रसुवा– चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने पासाङल्हामु राजमार्गमा भत्किएको ‘कज–वे’ निर्माण गरिएको छ। विगत करिब ४ वर्षअघि भत्किएको ‘कज–वे’ बुधबार निर्माण गरिएको हो।
करिब चार घण्टा राजमार्ग बन्द गराएर ह्युमपाइप ‘कज–वे’ निर्माण गरिएको डिभिजन सडक कार्यालय नुवाकोटका डिभिजन प्रमुख निरज शाक्ले बताए। उनले भने,‘ कालिकास्थान–धुन्चे सडकखण्डमा पर्ने बोकेझुण्डा नजिकै करिब ४ वर्ष अघि भत्किएको ‘कज–वे’ निमार्ण गरिएको छ। बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर कज्वे निर्माण गरेका हौँ।’
२८ लाखको लागतमा ‘कज–वे’ निर्माण गरिएको डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख शाक्यले बताए। ‘कज–वे’ निर्माण भएसँगै यातायात सञ्चालनमा सहज भएको बताइएको छ।
यसअघि वर्षायामको समयमा मात्र पासाङल्हामु राजमार्गको सडम मर्मत गर्ने गरिएको भएपनि यो वर्ष भने वर्षायाम अघि नै सडक मर्मतको कार्य सुरु गरिएको छ।
सडक सुधार कार्यक्रमअन्तर्गत खाल्डाखुल्डी पुर्ने, ढलान गर्ने, नाला मर्मत गर्ने, पिच गर्ने र साँघुरो सडकलाई चौडा बनाउने लगायतका कार्य भइरहेको सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ। असारभित्रै कार्य सम्पन्न गर्नेगरि सडक सुधार तथा मर्मत कार्यलाई तिव्रताा दिइएको डिभिजन प्रमुख शाक्यले बताए।
सडक मर्मत तथा सुधार गर्नका लागि गत वर्षको बाँकी २ करोड ८५ लाख र यो वर्षको लागि थप भएर आएको ३ करोड ३० लाख बजेट रहेको कार्यालयले जनाएको छ। सडकको बेत्रावती–धुन्चे खण्डको विभिन्न स्थानमा ढलान गर्नुपर्ने भएकाले त्यसको सम्झौता भएर कार्य अघि बढाइएको शाक्यले जानकारी दिए।
यसअघि सडक मर्मत तथा सुधारको लागि आएको बजेट समयमा नै काम गर्न नसक्दा ‘फ्रिज’ हुने गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।