रसुवा– रसुवागढीको केरुङ नाकामा अवैध सुनसहित पक्राउ परेका रसुवाका दुई जनालाई चिनियाँ प्रहरीले हिरासतमा राखेको छ। अवैध सुन लुकाई-छिपाई ल्याउँदै गरेको अवस्थामा केरुङ नाकाको चीनतर्फ दुई नेपालीलाई गत विहीबार चिनियाँ प्रहरीले पक्राउ गरेको थियो।
उनीहरुलाई लाह्सास्थित हिरासतमा राखिएको जानकारी आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी सीताराम थापाले जनाए। पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका ५ सानोभार्खुका ग्याल दोर्जे तामाङ र आमाछोदिङ्मो गाउँपालिका २ हाकुका विकास वाइवा छन्।
चिनियाँ प्रहरीले दिएको जानकारी अनुसार उनीहरुले चीनको केरुङबाट कन्टेनरमा लुकाएर ९ टुक्रा सुन नेपाल भित्र्याउन खोजेका थिए। चिनियाँ भन्सार विभाग अन्तर्गतको गुप्तचर निकायले दुई जनालाई पक्राउ गरिएको जानाकारीसहितको पत्र जिल्ला प्रशासन कार्यालय रसुवामा पठाएको थापाले जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।