काठमाडौं– सरकारले सोमबार संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगामी ५ वर्षभित्र वैदेशिक रोजगारीमा युवा जाने क्रम अन्त्य गर्ने घोषणासहित प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्ने योजना अघि सारेको छ ।
सरकारले नीति तथा कार्यक्रममा प्रस्तुत गरेजस्तो आगामी ५ वर्षभित्र रोजगारीको खोजीमा नेपाली युवा खाडी, मलेसिया लगायत अन्य देशमा श्रम बेच्न र पसिना बगाउन जानुपर्ने बाध्यता अन्त्य होला त? सरकारले वैदेशिक रोजगारीको विकल्पमा देशभित्र रोजगारका सम्भावाना के–कस्तो देखेको छ ? वार्षिक श्रम बजारमा भित्रिने ५ लाख युवा जनशक्तिलाई आगामी दिन कसरी व्यवस्थापन गर्दै जान्छ ? वैदेशिक रोजगारीमा युवा पठाउने क्रम रोक्ने सरकारको कार्यक्रमलाई यिनै प्रश्नका जवाफको कसीमा राखेर हेर्नुपर्ने हुन्छ।
सरकारी घोषण अनुसार काम भए ५ वर्षभित्र नेपाली युवा कामको खोजीमा विदेशिनु पर्ने बाध्यताको अन्त्य हुन्छ। तर, कार्यक्रम घोषणा गर्दै गर्दा सरकारले युवा पलायन रोक्न रोजगारका के–कस्ता योजना अघि सार्ने तयारी गरिरहेको छ भने विषय सार्वजानिक गरिएको छैन।
वैदेशिक रोजगारीमा युवा जाने क्रमको अन्त्य गर्ने उपाय सरकारसँग धेरै भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल बताउँछन्। सचिव दाहालका अनुसार अबका दिनमा मन्त्रालयले आन्तरिक श्रम बजार र रोजगारका अवसरको अध्ययन गरी बेरोजगारको समस्या समाधान गर्नेछ। ‘रोजगार नै गर्नुपर्छ भन्ने छैन । कुनै व्यवसायमा संग्लन भएर व्यवसाय गर्दा अरुलाई पनि रोजगार दिलाउन सकिन्छ,’ उनी भन्छन्, ‘वैदेशिक रोजगार पछिल्लो समय बाध्यता भन्दा पनि रहर बन्दै गएको छ। यसको विकल्प सरकारले खोज्नुपर्ने समय आएको छ।’ नेपाली युवाले विदेशमा सिकेको सीप अब नेपालमै सदुपयोग गर्नुपर्ने उनको भनाइ छ।
राज्यले निडर भएर काम गर्यो भने वैदेशिक रोजगारीको अन्त्य हुने रोजगार विज्ञ गणेश गुरुङ बताउँछन्। सरकारले लिएका उद्देश्य अनुसार आर्थिक उन्नति र विकासले गति लियो भने विदेशबाट कामदार आयात गर्ने दिन पनि आउन सक्ने विज्ञ गुरुङको भनाइ छ। उनले भने, ‘नेपालभित्र रोजगारका सम्भावाना धेरै छन्। राज्यले पहिचान गर्न मात्र नसकेको हो। राजनीतिक अस्थिरताका कारण लामो समय विकास र आर्थिक उन्नति नहुँदा नेपाली युवा विदेसिन वाध्य थिए। सरकारले कृषि क्षेत्रमा लगानी गरे धेरै युवा स्वरोजगार हुन्छन्।’ स्थानीय स्तरमा उत्पादन हुने सामग्री निर्यात गर्नेतिर राज्यले ध्यान दिए धेरै युवा स्वरोजगार हुने उनको भनाइ छ।
सरकारले लोकप्रियताका लागि र रोजगारमा जाने युवालाई आश्वासन बाँडन् मात्र वैदेशिक रोजगार अन्त्य गर्ने घोषणा नीति तथा कार्यक्रममा ल्याएको वैदेशिक रोजगार व्यवसायी कुमल खनालको तर्क छ। ‘राज्यले वार्षिक १ लाख युवालाई रोजगार दिन नसकिरहेको अवस्था छैन। पहिला श्रम बजारमा वार्षिक नयाँ जनशक्ति कति भित्रिन्छन् भने विषयमा राज्यले अध्ययन गर्नुपर्छ,’ खनालले भने, ‘त्यसका आधारमा रोजगारको अवसर खोज्नुपर्छ । काम खोज्न कस्ता कामदार श्रम बजारमा आइरहेका छन्, ती युवालाई कसरी व्यवस्थापना गर्न सकिन्छ भनेर योजना बनाउनुपर्छ।’ सरकारले ५ वर्षभित्र कुनै पनि हालतमा वैदेशिक रोजगार अन्त्य गर्नै नसक्ने उनको दाबी छ।
कामको खोजीमा वार्षिक ५ लाख युवा श्रम बजार आउने गरेको राष्ट्रिय योजना आयोगको एक अध्ययनले देखाएको थियो। यसमा वार्षिक १ लाख ५० हजार युवाले मात्र नेपालभित्र काम गर्ने अवसर पाउने गरेको अध्ययनले जनाएको थियो। अन्य युवा रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेको अध्ययनमा उल्लेख छ।
हाल कामको खोजीमा दैनिक १२ सयभन्दा बढी युवा विदेशिने गरेका छन्। विगत तीन दशकमा खाडीका देश, मलेसिया र अन्य देशमा गरी ४३ लाख ७५ हजार ८ सय युवा वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख छ। यो अवधिमा ११ लाखभन्दा बढी महिला कामदार कामको खोजीमा विभिन्न देश पुगेका छन्।
सरकारले वैदेशिक रोजगारीको विकल्पमा कृषिमा लागानी; पर्यटन प्रवद्र्धन; होटल व्यवसाय; साना तथा मझौला व्यवसायको विकास; घरेलु सामग्री उत्पादनमा जोड; घरेलु चित्रकला, हस्तकाल र वस्तुकला उत्पादनमा जोड; प्रविधि विकाससँगै देशभित्र अन्य सम्भावानाको खोजी गरी वैदेशिक रोजगार अन्त्य गर्ने योजना रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
तथापि, लोकप्रिय बन्न ठूला र महत्वाकांक्षी योजना घोषणा गर्ने तर त्यसलाई कार्यान्वयनमा ल्याउने नसक्ने सरकारी संयन्त्रको पुरानै परम्परा दोहोरिने हो भने वैदेशिक रोजगार अन्त्य गर्ने सरकारको यो कार्यक्रम पनि नारामै सीमित नहोला भन्न सकिन्न।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।