काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सर्वाधिक धनी मन्त्री देखिएका छन्।
विभिन्न क्षेत्रमा करोडौंको लगानी गरेका उनको तीन वटा घर, सात ठाउँमा जग्गा तथा ५० तोला भन्दा धेरै सुन छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उनको जनकपुर, ललितपुर र धनुषाको मिथिला विहारीनगर पालिकामा घर छन्।
उनको धनुषाको क्षिरेश्वरमा ८ विगाहा, सिन्धुलीको कमलामाईमा ५ कठ्ठा, ललितपुरमा २ रोपनी १३ आना, धनुषाधाममा एक विगहाना र जनकपुर उपमहानगरपालिकामा १० कठ्ठा जग्गा छ।
महासेठले आफूसँग ५२ तोला सुन रहेको उल्लेख गरेका छन्। जसमध्ये २७ पैतृक तथा २५ तोला दाइजोबापत लिएका थिए। जहावरात राखिएका सुनका विभिन्न गहनाहरु पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।
उनको र जुली महतोका नाममा विभिन्न ८ बैंकमा खाता छ। तर खातामा रहेको मौज्दात उल्लेख गरेका छैनन्।
५ वटा कम्पनीमा उनको करोडौंको शेयर लगानी छ।
गुडविल फाइनान्स, एनभिपिएल प्रालि, कर्पाेरेट बैंक वीरगंज, लक्ष्मी बैंक तथा महिला अधिकार तथा विकास केन्द्र नेपालमा उनको शेयर लगानी छ।
गुडविल फाइनान्समा ७० हजार, एनभिपिएल नामक कम्पनीमा उनको ३७ करोड रुपैयाँ लगानी छ।
कर्पाेरेट बैंकमा २ करोड ५० लाख, लक्ष्मी बैंकमा डेढ लाख, महिला अधिकार तथा विकास केन्द्रमा उनको ५० लाख लगानी छ। विभिन्न ठाउँमा सगोलमा रहेको करिब डेढ सय बिगाहा जग्गाको विवरण पनि उनले उल्लेख गरेका छन्। उनले नबील बैंकबाट ३ करोड ऋण लिएको र केही तिर्न बाँकी रहेको उल्लेख गरेका छन्। त्यस्तै तत्कालीन एस लगायत विभिन्न बैंकबाट २१ करोड कर्जा लिएको विवरण पनि उल्लेख छ।
आफ्ना गाडीको विवरण उनले खुलाएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।