राजविराज– पक्की धावनमार्ग नहुँदा २३ वर्षदेखि विमान सेवा ठप्प रहेको राजविराज विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ।
पक्की धावनमार्ग निर्माण भएपछि बुधबार गरिएको परीक्षण उडान सफल भएको छ। नियमित उडान भने बिहीबारदेखि सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरण राजविराज विमानस्थलका परियोजना प्रमुख रामएकवाल महतोले जानकारी दिए।
बुधबार पौने ४ बजे श्री एयरलाइन्सको ९ एन एएमए विमानले परीक्षण उडान गरेको छ। एयरलाइन्सले विमानस्थलको अवस्था बुझ्न आसपासका क्षेत्रमा पनि परिक्रमा गरेको थियो। प्राविधिक र चालक दलसहित ७ जनाको टोलीले विमानस्थल अवलोकन गरेको हो।
बिहीबार पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री एवं सप्तरी क्षेत्र नं. २ का सांसद उपेन्द्र यादवले संयुक्तरुपमा विमानस्थलमा नियमित उडानको उद्घाटन गर्ने कार्यक्रम छ।
कच्ची धावनमार्गका कारण पटक–पटक सञ्चालन र बन्द हुँदै आएको राजविराज विमानस्थलमा २०५२ साल बैसाखदेखि उडान ठप्प भएको थियो। विमानस्थल स्तरोन्नतिका लागि कान्छाराम, रमण र देव एन्ड सायर जेभीले ठेक्का लिएर २०७३ असोजदेखि निर्माण थालेको थियो।
धावनमार्गको लम्बाइ १ हजार ५ सय मिटर र ३० मिटर चौडाइ छ। ६० मिटर चौडा र ९० मिटर लामो एप्रोन भएको विमानस्थलको स्तरोन्नति कार्य एक महिनाअघि सम्पन्न भएपछि बुधबार परीक्षण उडान गरिएको हो।
२०१६ सालमा तत्कालीन यातायातमन्त्री गणेशमान सिंहले राजविराज विमानस्थलको उद्घाटन गरेका थिए। राजविराज नगरपालिकाबाट ४ किलोमिटर दक्षिण विष्णुपुर गाउँपालिका (साविक इटहरी विष्णुपुर गाविस) मा रहेको विमानस्थल निर्माणका लागि स्थानीय रुद्रनारायण सिंहले ५५ बिघा जग्गा उपलब्ध गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।