विराटनगर– ३८ सय किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश सुनाइएका २८ जना अभियुक्तलाई सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागार लगिने भएको छ।
जिल्ला अदालत मोरङले मंगलबार एसएसपी दिवेश लोहनी, पूर्व डिआइजी गोविन्द निरौलासहित २८ जनालाई मंगलबार पुर्पक्षको लागि जिल्ला कारागार मोरङ लैजान आदेश दिएको थियो। तर, कारागारमा ठाउँको अभाव भएपछि उनीहरुलाई क्षेत्रीय कारागार झुम्का लैजान लागिएको हो।
अदालतको आदेश आएपछि उनीहरुलाई झुम्का लगिनेछ। अर्को कारागारमा सार्नुपर्दा अदालतको स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ।
मोरङ कारागारमा ठाउँ नहुँदा २८ जनालाई नै हालसम्म जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ। मंगलबार पक्राउ परेका चुडामणि उप्रेती 'गोरे' लाई वडा प्रहरी कार्यालय पोखरियामा राखिएको थियो। अदालतमा उनको बयान आजबाट सुरु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।