काठमाडौं– बुद्ध एयरले जून १ (जेठ १८) बाट दैनिक विराटनगर–काठमाडौं बिहानी उडान सुरु गर्ने भएको छ।
विराटनगरबाट बिहान ७ बजे उडान गरेर काठमाडौंमा ७ः४० मा जहाज अवतरण हुने कम्पनीले जनाएको छ। बुद्धले काठमाडौंबाट साँझ ६ बजे विराटनगरको उडान पनि थप गरेको छ। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म त्रिभुवन विमानस्थलमा उडान अत्यधिक चापका कारण आन्तरिक उडानहरुमा ढिलाइ हुने गरेकाले साँझको उडान थपिएको जनाइएको छ।
कामकाजीहरुलाई एक दिनमै काठमाडौंमा आफ्नो काम सकेर विराटनगर फर्किन साँझको उडानले सजिलो हुने अपेक्षा कम्पनीले लिएको छ। रात्रिकालीन उडान र अवतरणका लागि विराटनगरमा सोही अनुसार प्रविधि र रन-वे लाइट जडान भइसकेको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।