काठमाडौं– वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले जाजरकोटमा एउटा घर छोरीको नाममा, ४ रोपनी जग्गा र २ वटा सहकारीमा सेयर भएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।
आज सार्वजनिक विवरणमा बस्नेतले जाजरकोटको भेरी नगरपालिकमा छोरी संगम बस्नेतको नाममा ४ रोपनी ३ पैसा जग्गा र सोही जग्गामा घर रहेको उल्लेख गरेका छन्। बैंकमा १५ लाख नगद तथा सुन ५ तोला र चाँदी १० केजी रहेको उल्लेख छ। उक्त सम्पत्ति पारिश्रमिक र पैतृक रहेको विवरणमा उल्लेख छ।
नेकपा माओवादीको नाममा रहेको बा ९ च ७४३१ नम्बरको स्करपियो र एभरेस्ट बैंकमा २० लाख रुपैयाँ तलब बापतको रकम मौज्दात रहेको बस्नेतको विवरणमा उल्लेख छ। जाजरकोटमा उनीसँग २ सहकारीको सेयर छ। लालीगुराँस सहकारीमा १० हजार र हाम्रो नयाँ कृषि सहकारीमा ३० लाखको सेयर रहेको बस्नेतको सम्पत्ति विवरणमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।