काठमाडौं– सरकारले ओमन सरकारसँग कामदार आपूर्ति गर्ने विषयमा दोहोरो श्रम सम्झौता अन्तिम चरणमा पुगेको जनाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र ओमनको कानुन तथा रोजगार मन्त्रालयबीच कामदार आपूर्ति गर्ने विषयमा दोहोरो श्रम सम्झौताका लागि आवश्यक विषयमा छलफलमा भइरहेकाले केही दिनभित्र सम्झौता हुने मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालय स्रोतकाअनुसार श्रम सम्झौताका लागि आवश्यक विषयमा सहमति भइसकेकाले ओमनसँग सरकारस्तरमा दोहोरो सम्झौता (एमओयु)गर्ने काम मात्र बाँकी रहेको जनाएको छ।
पछिल्लो समय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदार जाने गन्तव्य मुलुकसँग दोहोरो श्रम सम्झौताका लागि छलफल र पहल गरिरहेको छ।
दुई सरकारका बीचमा रोजगारीका लागि ओमन जाने कामदारको सुरक्षा, भिसा र टिकट, मानव अधिकार, सेवा सुविधा, २४ घन्टे बिमा, साप्ताहिक बिदा र अन्तर्राष्ट्रिय मापदण्डअनुसार तलब तथा अन्य सुविधासहितको सम्झौता हुँदै छ। ओमन सरकारले नेपाली कामदारलाई अन्य देशबाट आउने कामदारलाई उपलब्ध गराएको सेवा, सुविधा र तलब दिइने सहमति गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ।
नेपालबाट श्रम स्वीकृति लिएर वार्षिक १० हजारको हारहारीमा नेपाली कामदार ओमन जाने गरेका छन्। ओमन नेपाली कामदारको उत्कृष्ट गन्तव्य मुलुक भित्र पर्छ। नेपाली कामदार मुख्यतया उद्योग, कृषि, सुरक्षा गार्ड, कन्स्ट्रक्सन र डाइभर भिसामा ओमन जाने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।