थप उपचारका लागि राष्ट्रकवि घिमिरेलाई दिल्ली लगिने

Nepal Live

ग्राण्डीमा प्रधानसेनापति राजेन्द्र क्षेत्री राष्ट्रकविको स्वास्थ्यबारे जानकारी लिँदै


काठमाडौं- राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि बुधबार भारतको दिल्ली लगिने भएको छ।

उनको रोग पहिचानका लागि दिल्लीको मेदान्त अस्पतालमा उपचार गर्ने तयारी गरिएको हो। दुई सातादेखि ग्रान्डी अस्पतालमा उपचाररत राष्ट्रकविलाई बुधबार साँझ ५ बजे जेट एयरवेजको विमानबाट दिल्ली लगिने पारिवारिक स्रोतले जनाएको छ। उनको स्वास्थ्य अवस्था अहिले सामान्य र स्थिर नै रहेकाले नियमित उडानबाटै लैजान लागिएको जनाइएको छ।

क्रोनिक ग्यास्ट्राइटिस र उच्च रक्तचापको समस्या देखिएका ९९ वर्षीय घिमिरेको शरीरभित्र रक्तश्राव भइरहेको तर त्यसको अवस्था पत्ता लगाउन नसकिएपछि चिकित्सकले विदेश लैजान सुझाव दिएका थिए। राष्ट्रकवि घिमिरेको सानो आन्द्राका साथै दिसामा पनि रक्तश्राव भइरहेको तर कुन भागबाट रक्तश्राव भइरहेको छ भन्ने अवस्था पत्ता लगाउने मेसिन नेपालमा नभएकाले दिल्ली लैजान लागिएको हो।

राष्ट्रकविको साथमा एयर एम्बुलेन्सको अनुभव भएका नर्भिकका मुटुरोग विशेषज्ञ डा शिवजी सिलवाल, राष्ट्रकविकी छोरी पूर्व स्वास्थ्य सचिव डा किरण रेग्मी लगायत दिल्ली जाने स्रोतले जनाएको छ।

राष्ट्रकविलाई मंगलबार रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति राजेन्द्र क्षेत्री, अभिनेता राजेश हमाल लगायतले ग्राण्डी अस्पताल पुगेर भेटी स्वास्थलाभको कामना गरेका थिए।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार