काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपिएल)मा उत्कृष्ट प्रदर्शन गरेर चर्चा कमाएका युवा क्रिकेटर सन्दीप लामिछाने मंगलबार स्वदेश फर्किएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सन्दीप क्रिकेटमा नेपालको सम्भावना धेरै भए पनि त्यसका लागि मिहिनेत पनि बढी नै गर्नुपर्ने बताएका हुन्। विश्वका उत्कृष्ट ब्याट्सम्यान विरुद्ध बलिङ गर्दा चूनौतीको महसुस गरे पनि अवसर सम्झनलायक रहेको उल्लेख गरे।
उनले नेपालको क्रिकेट भविष्य राम्रो भएको र त्यसका लागि खेलहरु बढी आयोजना गर्नुपर्नेमा जोड दिए।
आइपिएलमा दिल्ली डेयरडेभिल्सबाट खेलेका सन्दीपले सो प्रतियोगितामा आफ्नो सहभागिता सिक्ने मात्र नभई देश चिनाउने अवसर पनि भएको बताए। सुरुका ११ खेलमा बेञ्चमा रहेका उनले दिल्ली प्लेअफमा नपुग्ने भएपछि मौका पाएका थिए। उनले तीन वटै खेलमा राम्रो प्रदर्शन गरे। उनले ३ खेलमा ५ विकेट लिएका थिए।
उनी वेस्ट इन्डिज विरुद्ध लर्ड्समा हुने ट्वान्टी–ट्वान्टी क्रिकेटका लागि विश्वका उत्कृष्ट खेलाडी रहेको वर्ल्ड ११ मा समेत परेका छन्।
त्रिभुवन विमानस्थलमा उनलाई राष्ट्रिय टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल लगायत समर्थकले स्वागत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।