काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकले संसदीय दलको विधानलाई एकरूपता दिन ६ सदस्यीय समिति गठन गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुवै सदनका सदस्यको बैठकले भीम रावल संयोजक रहेको समिति गठन गरेको हो। समितिमा देव गुरुङ, रामनारायण बिडारी, खगराज अधिकारी, रेखा शर्मा र कृष्णभक्त शर्मा रहेका छन्।
समितले १५ दिनमा आफ्नो कार्य सक्ने नेता खगराज अधिकारीले जानकारी गराए।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट ल्याइएको नीति तथा कार्यक्रम अनुसार कार्य गर्न निर्देशन दिएका थिए। प्रचण्डले विगतमा वाम गठबन्धनका सांसदले बोल्ने क्रममा मेल नभएको औंल्याउँदै एकीकरणको स्पिरिट अनुसार कार्य गर्न निर्देशन दिएका छन्। नीति तथा कार्यक्रमलाई प्रधानता दिएर विकासका कार्यमा प्रत्यक्ष लाग्न पनि उनले आग्रह गरेका थिए।
संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताए। ओलीले नीति तथा कार्यक्रमको जिम्मेवारी आफूले लिने बताउँदै कार्यान्वयनमा जोड दिन उनले निर्देशन दिए। ओलीले प्रतिपक्ष दलप्रति संयतित हुँदै उनीहरूको कुरा सुन्न पनि सुझाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।