काठमाडौं– वैदेशिक रोजगारमा जाने युवालाई समस्यामा पार्ने २५ वटा म्यानपावर कम्पनीको कामकारबाहीमा वैदेशिक रोजगार विभागले रोक लगाएको छ।
विभागमा रोजगार पीडितले दिएको उजुरीको आधारमा म्यानपावर कम्पनीको कामकारबाही रोक्का गरी अनुन्धान अघि बढाइएको विभागले जनाएको छ। पीडितले विभागमा उजुरी दर्ता गरेपछि सम्बन्धित म्यानपावरलाई पत्राचार गर्दा पनि अटेर गरेपछि विभागले कदम चालेको हो।
म्यानपावर कम्पनीले नेपालमा एउटा काममा सम्झौता गराउने र विदेश पुगेपछि अर्को काममा लगाउने, लामो समय कामदारको राहादानी थन्क्याएर राख्ने, सरकारले तोकेभन्दा चर्को रकम कामदारसँग असुल्ने र रोजगारीमा गएका कामदार समस्यामा पर्दा उद्धारमा चासो नदिने जस्ता गुनासोसहित पीडितले उजुरी दिएका थिए।
विभागमा गुनासो लिई मासिक ४० जनाभन्दा पीडित आउने गरेका छन्।
पीडितले विभागमा दिएको उजुरीको आधारमा मुद्दाको प्रकृति हेरी अनुसन्धान अघि बढाइएको वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले बताए। 'पीडित कामदारलाई जतिसक्दो चाँडो सुनुवाई गरी न्याय दिलाउने प्रयास भइरहेको छ,' उनले भने।
कामदारलाई समस्यामा पार्ने २ सयभन्दा बढी म्यानपावरको कामकारवाही यसअघि नै रोक्का गरी क्षतिपूर्ति भराएको महानिर्देशक आचार्यले बताए।
विभागले गत महिनादेखि कामदारका समस्या प्राथमिकतामा राखेर दैनिक मुद्दाको सुनुवाइ गर्दै आएको उनको भनाइ छ। तर, पीडितले भने विभागका कर्मचारीले म्यानपावर सञ्चालकसँग मिलेर कतिपय मुद्दा र उजुरी दबाबमा मिलाउने खोज्ने गरेको आरोप लगाउँदै आएका छन्।
रोक्कामा परेका २५ म्यानपावरहरु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।